News पर्यटन प्रदेश १

प्रतिबन्ध हटेपछि इलाममा पर्यटकको चहलपहल बढ्यो

प्रतिबन्ध हटेपछि इलाममा पर्यटकको चहलपहल बढ्यो

इलाम । दार्जिलिङको सिंहलीला नेशनल पार्कले पर्यटक आवजावतमा लगाएको प्रतिबन्ध हटाएपछि इलामको सीमावर्ती सन्दकपुर क्षेत्रमा पर्यटक आउने क्रम शुरु भएको छ । 

 


उक्त पार्कले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको प्रजनन् समय (जुन १५ तारिखदेखि तीन महिनाका लागि) पर्यटकको आवागमनमा लगाएको प्रतिबन्ध शनिबारदेखि खुला गरेपछि भारत भएर आउने पर्यटकको चहलपहल बढेको हो । 

 


पर्यटक प्रवेशले रेडपाण्डाको प्रजननमा प्रभाव पर्ने भन्दै पार्कले हरेक वर्ष जुन १५ देखि सेप्टेम्बर १५ सम्म पर्यटक आवतजावतमा प्रतिबन्ध लगाउँदै आएको छ । इलामको सबैभन्दा अग्लो स्थान सन्दकपुर जान नेपालबाट सडक नभएको तर भारतीय क्षेत्रमा प्रतिबन्ध लगाएकाले पर्यटकको आवागमन ठप्प हुन्छ । 

 

 

सूर्योदय नगरपालिका क्षेत्रको सीमा बजार मानेभञ्ज्याङ–सन्दकपुर पर्यटकीय क्षेत्रमा पर्ने गैरीवासदेखि कालपोखरीसम्म नेपालबाट बाटो नखनिएका कारण पर्यटकले भारतीय बाटो प्रयोग गर्दै आएका छन् । भारतको उक्त पार्कले आवतजावतमै प्रतिबन्ध लगाएपछि पर्यटक मानेभञ्ज्याङ–सन्दकपुर पर्यटन क्षेत्रको भ्रमणमा नआउने गरेको मानेभञ्ज्याङ् ल्याण्डरोभर एसोशिएशनका अध्यक्ष पासाङ तामाङले बताए । 

 


भारतले सीमाक्षेत्रमा मानेभञ्ज्याङदेखि फालुटसम्म पर्यटन पदमार्ग निर्माण गरेको छ भने नेपालले सो क्षेत्रमा पूरै पदमार्ग निर्माण गर्न सकेको छैन । पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा पदयात्राका लागि भारतलगायत तेस्रो मुलुकका सयौँ पर्यटक आउजाउ गर्दै आएका छन् । पर्यटक आउन थालेपछि उत्तरी क्षेत्रका होटल पनि खुलेका छन् । 

 

 

पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघमा, तुम्लिङ, जौबारी, गैरीवास, कैयाकट्टा, कालपोखरी, बिर्खेभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौँदेखि भारत भएर आउने पर्यटकलाई लक्षित गरेर नेपालका दर्जनौँ होटल सञ्चालनमा छन् । 

 

 

असोज र कात्तिकमा पर्यटक आवागमन उच्च हुने भएकाले बर्खामा बन्द भए पनि अनुकुल याममा ल्याण्डरोभर गाडीमा पर्यटक ओसारपसारमा भ्याइनभ्याइ हुने सूर्योदन नगरपालिका-१ का अध्यक्ष राजकुमार श्रेरेङले बताए। सन्दकपुर क्षेत्रमा असोजदेखि वैशाखसम्मै पर्यटक आउजाउको क्रम चल्ने गरेको छ ।

 

 

 कञ्चनजङ्घा, सगरमाथालगायतका हिमशृङ्खला र सूर्योदय दृश्यावलोकन, राष्ट्रिय फूल लालीगुराँस, लोपोन्मुख जडिबुटी हिमाली जीवनशैलीलगायत अवलोकनका लागि पनि सीमावर्ती क्षेत्र प्रख्यात छ । 

इलाम पर्यटक दार्जिलिङ

विशेष