News

नेपालमा १३ हजार गिद्ध

नेपालमा १३ हजार गिद्ध

नवलपरासी । नेपालमा विभिन्न नौ प्रजातिका करीब १३ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ ।

 

 

पूर्वी नवलपरासीको कावासोतीस्थित जटायु रेष्टुरेन्टकाअनुसार हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम सङ्ख्यामा छन् भने अन्य प्रजातिका गिद्ध हिमाली बोहक सबैजसो स्थानमा पाइने गरेको छ । 

 

 

नेपालमा डङ्र, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामोठुडे गरी नौ प्रजातिका गिद्ध पाइएको छ । 

 

 

हाडफोर प्रजातिको गिद्ध बढी चिसो हुने हिमाली भेगमा मात्र पाइने जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले जानकारी दिए । 

 

 

नेपालमा सबैभन्दा बढी हिमाली प्रजातिको गिद्ध करीब १० हजारको हाराहारीमा रहेको तथ्याकं छ भने खैरो, राज र लामोठुडे प्रजातिका गिद्ध भारत, पाकिस्तान, चीन, बर्मा, थाइल्याण्डलगायतका देशबाट जाडो छल्न नेपाल आउने गर्दछन् । 

 

 

पूर्वी नवलपरासीको कावासोतीस्थित उक्त रेष्टुरेन्टमा राखिएका १२ वटा गिद्धलाई प्रकृतिमा छाडिएको छ । प्रजनन केन्द्रमा हुर्किएका ती गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको हो । 

 

 

विश्वमै पहिलो पटक नेपालमा गिद्ध संरक्षणको थालनी भएको र सङ्कटापन्न अवस्थामा रहेका तीनकोे संरक्षणमा यस्ता प्रयास फलदायी हुने जनाइएको छ । 

 

 

प्रकृतिमा छाडिएका गिद्धको पखेटामा नम्बरसहितको ट्याग लगाइएको छ भने सेटलाइटबाट अनुगमन गर्न सकिने गरी गिद्धको ढाँडमा रेडियोकलर जडान गरिएको संयोजक चौधरीले जानकारी दिए ।

 

 

उनकानुसार रेडियोकलर जडान गरिएकाले अब प्राकृतिक बासस्थानमा छाडिएका ती गिद्ध रहने स्थान र तिनको अवस्थाबारे अनुगमन गर्न सकिने छ ।

 

 

विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुबै देशका साथै अन्य मुलुकले पनि गिद्ध संरक्षणमा जोड दिन थालेका छन् । 

 

 

रेष्टुरेन्टमा प्रकृतिमा भएका र छोड्नु पूर्व खोरमा राखिएका गिद्धलाई सँगै खाना खुवाइँदै आइएको थियो । जाली भित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था जटायु रेष्टुरेन्टमा गरिएको थियो । सँगै खाँदै आएकाले जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ । 

 

 

अति सङ्कटापन्न अवस्थामा रहेको डङ्ङगुर जातको गिद्धको सङ्ख्या बढाउनका लागि दातृ निकायको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । 

नवलपरासी गिद्ध संरक्षण जटायु रेष्टुरेन्ट

विशेष