News

दसैँ–तिहारमा चल्ने गाडीको विवरण संकलन गरिँदै

दसैँ–तिहारमा चल्ने गाडीको विवरण संकलन गरिँदै

व्यवसायीले यो वर्ष नयाँ यात्रु बस नथप्ने भएपछि यातायात व्यवस्था विभागले दसैं तिहारमा चल्ने यात्रुबस र अनुमानित यात्रुको विवरण संकलन सुरु गरेको छ । त्यसका लागि यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई विवरण उपलब्ध गराउन आग्रह गरेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

 

‘अहिले सञ्चालनमा रहेका गाडीले दसैँ तिहारमा यात्रु ओसार्न सम्भव छ÷छैन, अनुमान गर्न र कति यात्रु हुन्छन् भन्ने यकिन गर्न विवरण संकलन सुरु गरेका छौँ,’ उनले भने । अहिले भइरहेकै गाडीबाट दसैँ तिहारमा घर जाने सबै यात्रुलाई सहज रूपमा सेवा दिन सम्भव नरहेको उनले स्वीकार गरे ।


हरेक वर्ष पाँच सय बस थपिने गरेकामा यसपालि शून्य
हरेक वर्ष पाँच सयभन्दा बढी नयाँ बस थप्दै आएका यातायात व्यवसायीले यो वर्ष एउटा पनि नयाँ बस अर्डर गरेका छैनन् । ‘अहिलेसम्म अर्डर नै नगरेकाले नयाँ गाडी आउन त सम्भव नै छैन,’ उनले भने, ‘अन्य विकल्प के हुन सक्छ भनेर पनि छलफल गर्दै छौँ ।’ अन्य विकल्पका रूपमा विद्यालयका बस सञ्चालन गर्ने, सुरक्षा निकाय र संस्थानका गाडी सञ्चालन गर्न आग्रह गर्नेलगायत भए पनि अहिलेसम्म त्यस्तो अभ्यास भएको छैन ।

सिन्डिकेट अन्त्यपछि यातायात क्षेत्र अस्तव्यस्त भएको, बिमालगायतका विषयमा सरकारले स्पष्ट निर्णय लिन नसकेको, बैंकको ब्याज उच्च बनाएकोलगायतका कारण व्यवसायीले नया“ बस अर्डर नगरेका यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए ।


 १४ लाख यात्रु दसैँमा घर जाने अनुमान
काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका कम्तीमा १४ लाख मानिस दसैँ र तिहारमा घर जाने अनुमान यातायात व्यवस्था विभागले गरेको छ ।


 १४ ठाउँमा नयाँ टिकट काउन्टर
यातायात व्यवसायी र सरकारबीच आइतबार भएको वार्तामा व्यवसायीले ५ असोजदेखि अग्रिम टिकट बुकिङ खुलाउन सहमति गरेका थिए । त्यस्तै, यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १४ ठाउँमा टिकट काउन्टर खोल्न सहमति जनाएको विभागका सूचना अधिकारी उपाध्यायले बताए । ‘पुरानो बसपार्क, गौशाला, कलंकीलगायत उपत्यकाका विभिन्न १४ ठाउँमा टिकट काउन्टर राख्ने सहमति भएको छ,’ उनले भने ।

तर, महासंघका अध्यक्ष कर्माचार्यले भने पाँच महिनादेखि रोक्का रहेका यातायात समितिका बैंक खाता खुले मात्र अग्रिम टिकट बुकिङ खुल्ने बताए । ‘सरकारसँग सहजीकरणका लागि हामीले विभागलाई आग्रह गरेका छौँ,’ उनले भने, ‘खाता नखुले अग्रिम टिकट बुकिङ खोलेर संकलित पैसा कहाँ राख्ने ?’ - नयाँ पत्रिकाबाट । 

विशेष