News

प्रतिबन्धित भारु सटही कहिले ?

नोटबन्दीपछि ९९.३ प्रतिशत भारु साटियो, तर नेपालमा भएको १० अर्ब साटिदिएन भारतले

प्रतिबन्धित भारु सटही कहिले ?

काठमाडाैं ।  भारतले पाँच सय र १ हजार दरका भारतीय नोटमा प्रतिबन्ध लगाएको दुई वर्ष पुग्न लागिसकेको छ । यसबीचमा भारतमा करिब ९९ दशमलव ३ प्रतिशत प्रतिबन्धित नोट साटिइसकेको भारतीय रिजर्भ बैंकले जनाएको छ । तर, ० दशमवलव ७ प्रतिशत नोट फिर्ता भएनन् ।

 

तीमध्ये केही नोट भारतले नेपाल र भुटानमा रहेका प्रतिबन्धित भारु नसाटी दिएकाले बाहिर बसेका हुन् । नोटबन्दीको दुई वर्ष बित्न लाग्दा पनि नेपाली जनताले कानुनीरुपमा बोकेका प्रतिबन्धित ५ सय र १ हजार दरका भारु साट्न भारतले कन्जुस्याइँ गरेको छ । अब त भारत सरकारका अर्थमन्त्रालयका सचिव नै भन्छन् ती नोट साटिने सम्भावना न्यून छ ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २३ कात्तिक ०७३ मा सम्बोधन गर्दै ५ सय र १ हजार भारुका नोट नचल्ने घोषणा गरेका थिए । नेपालले पनि त्यसको भोलिपल्ट २४ कात्तिक ०७३ देखि भारु ५ सय र १ हजारका नोट प्रतिबन्ध लगाएको थियो । नेपालमा बैंकिङ प्रणालीभित्रै ७ करोड ८० लाख ६१ हजार प्रतिबन्धित भारु ५ सय र १ हजारका नोट रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

त्यस्तै, बैंकिङ प्रणाली बाहिर करिब साढे ९ अर्बदेखि १० अर्ब भारु रहेको अनुमान नेपाल राष्ट्रबैंकले गरेको छ । यद्यपि, कतिपय भारतीय मिडियाले भने नेपालमा करिब ३३ अर्बबराबरका प्रतिबन्धित भारु नोट रहेको अनुमान गरेका छन् । तर, नोटबन्दी सुरु भएको दुई वर्ष पुग्नै लाग्दासमेत नेपालमा रहेका प्रतिबन्धित भारु साट्ने औपचारिक घोषणा वा समझदारी भएको छैन ।- नयाँ पत्रिकाबाट ।

भारतीय नोट

विशेष