News

मन्त्रालय खाली गरेर विदेश भ्रमण

मन्त्रालय खाली गरेर विदेश भ्रमण

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई विदेश भ्रमणमा कडाइ गर्दै परिपत्र गरे पनि मन्त्रालयका उच्च अधिकारी भने एकपछि अर्को गर्दै विदेश भ्रमणमा गएका छन्।

 

मन्त्रालयको नेतृत्व गरेका संघीय मामिलामन्त्री लालबाबु पण्डित यतिखेर चीन भ्रमणमा छन्। मन्त्रालयका ५ सहसचिवमध्ये ३ सहसचिव विदेशमै छन् । बाँकी दुई सहसचिव सुरेश अधिकारी र रूद्रसिंह तामाङले मन्त्रालय चलाएका छन्।

 

मन्त्री पण्डित सोमबार पत्नी र स्वकीय सचिव लिएर चीन गएका हुन्। उनी असोज ५ मा फर्कने कार्यक्रम छ। मन्त्री पण्डितका निजी सचिव र स्वकीय सचिव विदेशमै छन्। निजी सचिव मनोज राई मन्त्रीसँगै चीन भ्रमण गएका छन् भने निजी सचिव रमेश अधिकारी जर्मन भ्रमणमा गएका छन्।

 

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन मन्त्री पण्डित चीनको छेन्दु गएका हुन्। उनीसँग मन्त्रालयका सहसचिव केदार पनेरू गएका छन्। यसैगरी दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको प्रशासनिक सम्मेलनमा सहभागी हुन मन्त्रालयका अर्का सहसचिव भूपाल बराल गत साता इन्डोनेसिया गएका छन्। मन्त्रालयका अर्का सहसचिव पुरूषोत्तम नेपाल जर्मनी भ्रमणमा छन्।

 

नगरपालिकाको क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुन उनी जर्मनी पुगेका हुन्। उनीसँगै मन्त्रालयका उपसचिव विष्णुदत्त गौतम पनि जर्मन पुगेका छन्।

 

सोमबार मात्र मन्त्रालयको एउटा ठूलो टोली चीन भ्रमण गरेर काठमाडौं फर्केको छ। सो टोलीमा उपसचिवद्वय ऋषि आचार्य र भोला गुरागाईं सहभागी थिए। यसैगरी मन्त्रालयका ४ शाखा अधिकृत पनि उपसचिवको टोलीसँगै मंगलबार काठमाडौं फर्केको छ।

 

मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुरेश अधिकारीले सामान्य प्रशासनमन्त्रीबाट स्वीकृति गराएर मन्त्रालयका कर्मचारी विदेश भ्रमणमा जाने गरेको बताए। प्रधानमन्त्रीको कार्यालयलाई जानकारी मन्त्रीतहबाट हुने गरेको पनि उनले प्रस्ट पारे।

 


प्रधानमन्त्री कार्यालयको निर्देशन उल्लंघन

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले दुई हप्ताअघि सबै मन्त्रालयलाई विदेश भ्रमण गर्ने कर्मचारीको विवरण सम्बन्धित मन्त्रालयले आफ्नो वेबसाइटमा सार्वजनिक गर्न निर्देशन गरेको छ। तर प्रधानमन्त्री कार्यालयको निर्देशनलाई अधिकांश मन्त्रालयले उल्लंघन गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले भने, ‘विेदश भ्रमण गर्न जाने सम्बन्धित कर्मचारीको विवरण सम्बन्धित मन्त्रालयले आफ्नो वेबसाइटमा राख्न हामीले सबै मन्त्रालयलाई पटकपटक निर्देशन गरेका छाैं।’ तर मंगलबारसम्म अधिकांश मन्त्रालयले विदेश भ्रमण गर्ने कर्मचारीको विवरण वेबसाइटमा सार्वजनिक गरेका छैनन्।

 

संघीय मामिला मन्त्रालयका प्रवक्ता अधिकारीले विदेश भ्रमण गर्ने कर्मचारीको विवरण चाँडै वेबसाइटमा राख्ने बताए। सामान्य प्रशासन मन्त्रालयको जनशक्ति शाखाले विदेश भ्रमण गर्ने कर्मचारीको सूची राख्ने गर्छ तर शाखाका कर्मचारी भने विदेश भ्रमण गर्ने कर्मचारीको नाम सार्वजनिक गर्न चाहँदैनन्।

 

केही महिनाअघि प्रधानमन्त्रीको कार्यालयले ३६ बुँदे निर्देशिका बनाई सार्वजनिक खर्च मितव्ययिता कार्यक्रम ल्याएको थियो । जसमा विदेश भ्रमणमा कर्मचारीलाई कडाइ गरेको थियो।

 

यसैगरी प्रधानमन्त्री कार्यालय विदेश भ्रमण गर्ने कर्मचारीका हकमा छुट्टै निर्देशिका पनि बनाएको छ। निर्देशिका पनि विदेश भ्रमण गर्ने कर्मचारीको सूची सम्बन्धित मन्त्रालयले सार्वजनिक गर्नुपर्ने प्रावधान राखिएको छ।

प्रायः सबै मन्त्रालयका उच्च कर्मचारीले सो निर्देशिका उलंघन गर्ने गरेका छन्। यसैगरी समान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुखलगायतका कर्मचारीलाई परिपत्र गर्दै विदेश भ्रमण कडाइ गरको छ। - नागरिक दैनिकबाट ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह विदेश भ्रमण

विशेष