News

नेपाल वायुसेवा निगमका अध्यक्षको पदबहाली

नेपाल वायुसेवा निगमका अध्यक्षको पदबहाली

काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मदन खरेलले पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै एकीकृत प्रयासका माध्यमले निगमलाई सक्षम र सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । त्यसमा समस्त कर्मचारीको सामूहिक प्रयास हुनुपर्ने उनको भनाइ थियो ।


नेपाल वायुसेवा निगम सामान्य व्यापारिक संस्था मात्र नभई आधुनिक युगको जटिल प्रविधिसहितको क्षेत्र भएकाले सूक्ष्म अध्ययन आवश्यकता रहेको उनको भनाइ थियो । उनले सबैले आफ्नो जिम्मेवारी गहन रूपमा बहन गर्न अनुरोध गरेका थिए ।

 

महाप्रबन्धक सुगतरत्न कंसाकारले नवनियुक्त कार्यकारी अध्यक्षलाई पूर्ण सहयोग गर्ने र सल्लाहकारका रूपमा मद्दत गर्ने बताएका थिए । विमान थप गर्दै नेपाललाई सस्तो गन्तव्य बनाउनुपर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सक्रिय कार्यनीति र कार्यक्रम अगाडि बढाउनुपर्ने कंसाकारको भनाइ थियो ।

 

उक्त अवसरमा आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगी कर्मचारी संघका अध्यक्ष तारिणी दाहाल र कर्मचारी संगठनका अध्यक्ष मनोज साहले व्यवस्थापन र कर्मचारीबीच सौहार्द सम्बन्ध कायम राख्दै निगमको सर्वपक्षीय विकासमा लाग्न अनुरोध गरेका थिए । - नयाँ पत्रिकाबाट ।

नेपाल वायुसेवा निगम मदन खरेल

विशेष