News पर्यटन समाज

पशुपति क्षेत्रको पुनःनिर्माणमा प्राधिकरणले सहयोग गर्ने

पशुपति क्षेत्रको पुनःनिर्माणमा प्राधिकरणले सहयोग गर्ने

 
काठमाडौँ । भूकम्पबाट भत्किएका पशुपति क्षेत्रका संरचनाको पुनःनिर्माण र यस क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ । 

 

क्षतिग्रस्त संरचनाको पुनःनिर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक एवं आवश्यकताअनुसार आर्थिक सहयोगसमेत गर्न लागेको हो । 

 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालसहितको समूहसँग बुधबार छलफल गर्नुहुँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणमा मौलिक शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोगका लागि आवश्यक पुरातत्वविद् तथा प्राविधिक जनशक्ति लगायतमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

पशुपति क्षेत्रका भूकम्प प्रभावित संरचना पुनःनिर्माण एवं प्रबलीकरणको स्पष्ट योजना माग गर्दै उनले आर्थिक स्रोतको अभाव हुन नदिने बताए । 

 

‘धार्मिक र पुरातात्विक सम्पदाको पुनःनिर्माण पहिले जुन शैलीमा थिए, त्यही शैलीमा निर्माण गरी संरक्षण गर्नुपर्छ, पुनःनिर्माण गर्दा पर्यावरणीय सन्तुलन र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकसाथ अगाडि बढाउनुपर्छ, यसका लागि प्राधिकरण, कोष, पुरातत्व विभाग, विज्ञ, स्थानीय समुदायलगायत बीच समन्वय र सहकार्य हुनुपर्छ’, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने । 

 

उनले पुनःनिर्माणका साथसाथै हिन्दू धर्मको दर्श्निक पक्ष र पशुपतिनाथको पौराणिकतालाई ध्यानमा राखेर गुरुयोजना बनाउन सुझाव दिए ।  

 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गौशालाबाट जयवागेश्वरी, जयवागेश्वरीबाट गुह्येश्वरी, गुह्येश्वरीबाट एयरपोर्ट र एयरपोर्टबाट गौशालासम्मको क्षेत्रलाई समेटेर गुरुयोजना बनाउन सुझाव पनि दिए । 

 

कोषका सदस्य सचिव डा ढकालले बजेट भए पनि परामर्शदाता, प्राविधिक जनशक्ति र उचित समन्वयको अभावमा पुनःनिर्माणका धेरै काम अघि बढाउन नसकिएको स्वीकारे । 

 


गत वर्ष पशुपति क्षेत्रको पुनःनिर्माणका लागि रु २० करोड विनियोजन भएको थियो । कोषका अनुसार श्लेष्मान्तक वनसँग जोडिएको १५ शिवालयका मन्दिर क्षेत्रको जमीन भासिएकाले भू–संरक्षण गर्नुपर्ने र मन्दिरको जीर्णोद्धार र संरक्षण गर्नुपर्ने आवश्यकता छ । 

 

यस्तै सत्तल बने पनि विश्वरुप मन्दिरको पुनःनिर्माण अघि बढ्न सकेको छैन । जयबागेश्वरी मन्दिर क्षेत्र, मन्दिर क्षेत्रमा रहेका सम्पदा, गौरीघाट क्षेत्रमा रहेका बज्रघर र पञ्चदेवल, गुह्ेश्वरी मन्दिर क्षेत्रमा भूकम्पबाट क्षति पुगेका सम्पदाको पुनःनिर्माण अघि बढ्न सकेको छैन । 


विसं २०४६ मा बनेको पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयन हुन सकेन । विसं २०५६ को योजना अपेक्षा गरेअनुसार अघि बढेन । हाल कोषसँग पशुपतिनाथ क्षेत्रको दीर्घकालीन विकास योजना छैन । योजनाबद्ध ढङ्गले पशुपति क्षेत्रका मन्दिरको संरक्षण र विकासलाई अगाडि बढाउन सकिएको छैन । 

पशुपति क्षेत्र

विशेष