संविधान जलाउने १२ पक्राउ
काठमाडौं । असोज ३ लाई कालो दिवस मान्दै संविधान जलाउनेहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव सेनाका नेता तथा कार्यकर्ताहरु र केही राष्ट्रवादीहरु छन् ।
न्यूरोड क्षेत्रमा संविधान जलाउने क्रममा प्रहरीले शिव सेनाकी केन्द्रीय नेता सिर्जना वाग्ले, मनोज सापकोटालगायतलाई पक्राउ गरेको छ । त्यस्तै गरी राष्ट्रवादी दीर्घराज प्रसाई, बिक्रम झालगायत १२ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
शिव सेनाले वर्तमान संविधानले धर्म मासेको, पहिचान समाप्त पारेको र नेपालीहरुको गौरव एवं आस्थाको केन्द्र राजसंस्था पनि खारेज गरेका भन्दै संविधान बहिष्कार गर्दै आएको छ । शिव सेनाका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले भने, ‘राजसंस्था स्थापना, हिन्दुराष्ट्र कायम, र वर्तमान संविधान नै खारेज नभएसम्म हाम्रो आन्दोलन चलिरहन्छ ।’
पक्राउ परेकाहरु बुधबार साँझ प्रहरी नियन्त्रणमुक्त भएको खबर छ ।
शिव सेना नेपालले विगतका तीन तहका निर्वाचन पनि बहिष्कार गरेको थियो ।