News

महानगरका २ कर्मचारी घूस रकमसहित पक्राउ

महानगरका २ कर्मचारी घूस रकमसहित पक्राउ

पर्सा । विद्यालयको अनुमतिपत्र दिन एक लाख रुपैयाँ घूस लिएको अभियोगमा दुई जना कर्मचारीलाई अख्तियारको टोलीले बिहीबार वीरगञ्जबाट पक्राउ गरेको छ । 

 

 

पक्राउ पर्नेमा महानगरपालिकाका शिक्षा समन्वय इकाइका प्रमुख मञ्जुर आलम र शाखा अधिकृत शशिभुषण साह रहेका छन् । अख्यितार दुरुपयोग अनुसन्धान आयोग मकवानपुरबाट खटिएको टोलीले दुबै जनालाई पक्राउ गरेको हो । 

 

 

फुर्कान इन्टरनेशनल एकेडमीको अनुमति दिनका लागि आलम र साहले माग गरेको पाँच लाख रुपैयाँ मध्ये एक लाख लिन वीरगञ्जको लाठगलीस्थित एक होटलमा पुगेका पर्साको छिपहरमाई गाउँपालिका-२ सम्भौताका अरुणकुमार साहलाई रुपैयाँसहित अख्यितारको टोलीले पक्राउ गरेको थियो ।

 

साहले दिएको जानकारीका आधारमा वीरगञ्ज महानगरपालिकाको कार्यालयबाट दुवै जना कर्मचारीलाई नियन्त्रणमा लिएको बताइएको छ । 

 

 

रुपैयाँ लिन होटलमा पुगेका अरुण शाखा अधिकृत साहका भाञ्जा रहेको अख्तियारले जनाएको छ । पक्राउ गरिएका आलम र साहलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर लगिएको छ । 

घूस अख्तियार वीरगञ्ज महानगर

विशेष