News समाज

बसको ठक्करबाट दुईजनाको मृत्यु

बसको ठक्करबाट दुईजनाको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायक–९ हब नब अगाडि अरनिको राजमार्गमा बिहीबार राती बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । 

 

दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए । 

 

घाइतेको उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रनाउ शर्माले बताए । यसैगरी  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् । 

 

काठमाडाँैदेखि दाङका लागि छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस गए राति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग जुझ्दा बस सडकदेखि ५० मिटर तल खसेको थियो । बसमा कम्तीमा ६० यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अन्य १९ को स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । 
 

दुर्घटना

विशेष