News

त्रिवि मातहत सम्बन्धन प्राप्त क्याम्पस नराख्न सिफारिश

त्रिवि मातहत सम्बन्धन प्राप्त क्याम्पस नराख्न सिफारिश

काठमाडौ । उच्च शिक्षा क्षेत्रलाई सङ्घीयता अनुकूल तुल्याउन त्रिभुवन विश्वविद्यालय जस्ता केन्द्रीय विश्वविद्यालय मातहतमा सम्बन्धन प्राप्त क्याम्पस नराख्न सिफारिश गरिएको छ ।

 

विश्वविद्यालयको वर्गीकरण र मापदण्डका लागि डा. त्रिरत्न मानन्धरको संयोजकत्वको गठित सात सदस्यीय सुझाव समितिले दिएको प्रतिवेदनले केन्द्रीय विश्वविद्यालयले आङ्गीक क्याम्पस मात्र र प्रदेश विश्वविद्यालयबाट आङ्गीक र प्रदेश दुवै क्याम्पस सञ्चालन गराउन सिफारिश गरेको हो । 

 

विश्वविद्यालय अनुदान आयोगले गठन गरेको सो समितिले गत महिना बुझाएको प्रतिवेदनले प्रदेश विश्वविद्यालयका रुपमा वर्गीकृत वा नयाँ खुल्ने प्रदेश विश्वविद्यालयले मात्र सम्बन्धन दिन पाउने व्यवस्था गरेको छ । 

 

हाल त्रिविअन्तर्गत ६० आङ्गीक र एक हजार ८४ सम्बन्धन प्राप्त क्याम्पस छन् । पाँच वर्षभित्र त्रिविले सम्बन्धन प्राप्त क्याम्पसबारे व्यवस्थापन गर्नुपर्ने प्रतिवेदनको सुझाव छ । 

 

सुझाव कार्यदलका संयोजक मानन्धरले हाल सञ्चालितमध्ये त्रिविसहित पाँच विश्वविद्यालयलाई केन्द्रीय र अन्य पाँच विश्वविद्यालयलाई प्रदेश विश्वविद्यालयका रुपमा स्थापित गर्न सुझाव दिइएको जानकारी दिए । 

 

त्रिवि मुलुकको जेठो र ठूलो विश्वविद्यालय तथा अन्य चार विषयगत विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयको मान्यता दिन उपयुक्त हुने कार्यदलको राय छ । 

 

केन्द्रीयका रुपमा वर्गीकृत हुन उपयुक्त हुने विषयगत विश्वविद्यालयमा नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, बौद्ध विश्वविद्यालय र खुल्ला विश्वविद्यालय छन् भने पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालय प्रदेश विश्वविद्यालयका रुपमा घोषित गर्न सुझाव दिइएको छ । 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विश्वविद्यालय

विशेष