News अपराध सुरक्षा

सुतली बम र खुकुरीसहित पक्राउ,अछाममा झडप

सुतली बम र खुकुरीसहित पक्राउ,अछाममा झडप

लहान । प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले सुतली ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५ वर्षीय आकाश राईलाई हतियारसहित बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । 

 

प्रहरीले शङ्का लागेर झोला जाँच गर्दा ती सामान फेला परेको थापाले बताए । पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच  अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कँुवर घाइते भएका छन् । 

 

घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे प्रहरीले जनाएको छ । उनको दायाँ आँखामा चोट लागेको थियो । प्रहरीले हस्तक्षेप गर्दै गोली चलाएको आरोप चालकहरूको थियो । 

 

मंगलसेनबाट आएका गाडी साँफे पक्की पुल नजिकै रोकिएपछि गाडी चालक प्रहरीमाथि जाइलागेकाले मङ्गलसेनबाट आफ्नो नेतृत्वमा आएका थप प्रहरी टोलीले हुल नियन्त्रण गर्न पाँच सेल अश्रुग्याँस चलाएको प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिए । 

 

प्रहरीले गोली चलाएको भन्दै आक्रोशित सवारीचालकले साँफेबगर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्नाका साथै नगरपालिकाको सवारीसाधनमा तोडफोड र बजार बन्द गराएका थिए । प्रहरी निरीक्षक रावतले नगरपालिकाको भवनभन्दा माथिबाट ढुङ्गा र सिसा प्रहार गरेकाले हुललाई शान्त पार्न हवाइफायर गरिएको बताए । ढुङ्गा प्रहारबाट प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानसमेत घाइते भएको उनले जानकारी दिए । 

 

सरकारले सवारीसाधन दुर्घटनामा कुनै व्यक्तिको मृत्यु भएमा चालकले १२ वर्ष जेललगायतका सजाय भोग्नुपर्ने गरी कानून ल्याइएको भन्दै चालकले तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् । चालकले आह्वान गरेको बन्दका कारण बाजुरा, अछामलगायत बाहिरबाट आउने यात्रु बीच बाटोमै अलपत्र परेका छन् भने शिक्षक सेवाको परीक्षा दिन जिल्ला बाहिर जाने परीक्षार्थी पनि समस्यामा परेका छन् । 
 

झडप

विशेष