३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चितको माग

३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चितको माग

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघले पार्टीको वडादेखि केन्द्रीय समितिसम्म पदाधिकारीसहित न्यूनतम् ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन माग गरेको छ ।

 

संघले आइतबार पत्रकार सम्मेलन गरी निर्वाचन लड्न पार्टीलाई स्थानीय तहमा ५० प्रतिशत र प्रदेश तथा संघमा न्यूनतम् ३३ प्रतिशत महिलालाई टिकट दिनुपर्ने सुझाव दिएको छ । 

 

संघका अध्यक्ष उमा रेग्मीले केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक गर्दै निर्वाचनको टिकट वितरण गर्ने कांग्रसको संसदीय समितिको केन्द्रदेखि स्थानीय तहसम्म महिला संघका सम्बन्धित तहका अध्यक्षलाई समावेश गर्नुपर्ने बताइन ।

 

उनले भनिन, “पार्टीको क्रियाशील सदस्यता वितरण गर्दा पार्टीमा सक्रियरुपमा काम गरिरहेका महिलालाई प्राथमिकताका साथ सदस्य दिनुपर्ने माग गर्दछौँ”, संघले मधेसमा खस आर्यलाई आरक्षणको व्यवस्था गर्नुपर्ने, पार्टीको क्रियाशील सदस्यता वर्षैपिच्छ नवीकरण गर्नुपर्ने र अधिवेशनको एक वर्ष अगाडि रोक्नुपर्ने सुझाव दिएको छ । 

 

कार्यक्रममा संघका उपाध्यक्ष सरस्वती अर्याल तिवारी र महासचिव धना खतिवडाले पछिल्लो समयमा महिला तथा बालबालिकामाथि हिंसा, बलात्कार र हत्याका घट्ना बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराउँदै कञ्चनपुरमा १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा शीघ्र सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारवाही गर्न माग गरे । 

 

संघले आइतबार उक्त सुझाव कांग्रेसका महामन्त्री एवं पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्कालाई बुझाएको छ । मुलुकको नयाँ संघीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनालाई पुनःसंरचना गर्न कांग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न यही भदौ ७ गते महामन्त्री खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

 

पार्टीको विधान संशोधन एवं समसामयिक विषयमा निर्णय गर्न कांग्रेस महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । 
 

३३ प्रतिशत नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ

संम्बधित खबर

विशेष