कुहिएको मासु खुवाउने पार्टी प्यालेसमा सिल
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको सोह्रखुट्टेस्थित नयाँ बजार मल्टिभेन्यु पार्टी प्यालेसमा सिल गरेको छ। अनुगमनका क्रममा यो पार्टी प्यालेसमा कुहिएको मासु प्रयोग गरेकोे पाइएपछि विभागले सिल गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत ईश्वर सुवेदी, आपूर्ति, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध विभागका अधिकृत दीपक पोखरेल र महानगरीय प्रहरी, सोह्रखुट्टे र उपभोक्ताकर्मीसहितको अनुगमन टोलीले शनिबार पार्टी प्यालेसमा अनुगमन गरेको थियो।
सोही क्रममा पार्टी प्यालेसले खाद्य उत्पादन गर्दा न्यून गुणस्तर र म्याद गुज्रेका मरमसला प्रयोग गरेको पाइएको थियो। गुणस्तरहीन वस्तु उत्पादन गरेको अभियोगमा अनुगमन टोलीले पार्टी प्यालेसमा सिल गरेको छ।
गुणस्तरहीन खाद्यान्न बिक्री गरेको पत्ता लगाएपछि पार्टी प्यालेसमा सिल गरेको विभागका महानिर्देशक सञ्जीव कर्णले पुष्टि गरे। उनले भने,‘ छानबिन गरी खाद्य ऐनअनुसार कारबाही गरिनेछ।’
स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभाका भइरहेको थियो। सोही क्रममा उपभोक्ताले कुहिएको मासुको गन्ध आएको आशंकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी दिए। त्यसपछि विभागको टोलीले पार्टी प्यालेसमा अनुगमन गरेको विभागका अधिकृत ईश्वर सुवेदीले जानकारी दिए। उनले भने, ‘अनुगमनका क्रममा कुहिएको मासुसहित शंकास्पद खाद्यान्न भेटिएपछि हामीले सिल गरेका हौं।’ - अननपूर्णपाेष्ट दैनिकबाट ।