News

अन्दोलनरत पक्षलाई मूल प्रवाहमा ल्याउनुपर्छ- गृहमन्त्री बादल

अन्दोलनरत पक्षलाई मूल प्रवाहमा ल्याउनुपर्छ- गृहमन्त्री बादल

काठमाडौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विभिन्न माग राखी आन्दोलनरत सबै पक्षलाई राजनीतिको मूल प्रवाहमा ल्याउनु अहिलेको आवश्यकता भएको बताएका छन् । 

 

सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग आइतबार गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउने गरी वार्ता गर्न टोलीलाई आग्रह गरे । 

 

गत भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका विभिन्न समूहसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पूर्वसभासद् सुरेश आले मगर, लीला भण्डारी, ताराकान्त चौधरीलगायत रहेको उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो । 

 

वार्ता टोलीसँग आइतबार गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले शान्ति, स्थिरता र सुशासन आजको आवश्यकता रहेको भन्दै त्यसलाई सार्थकता दिन सबै पक्षसँग संवादलाई जोड दिन वार्ता टोलीका सदस्यहरुलाई आग्रह गरे । 

 

गृह मन्त्रालयसँगको समन्वयमा वार्ता टोलीले काम गर्ने भएकाले मन्त्रालयका तर्फबाट सबै किसिमको सहयोग वार्ता टोलीलाई हुने गृहमन्त्रीले बताए । वार्ता समितिका संयोजक पाण्डेले टोली गठन भएपछिको अवस्था र वार्ताका लागि भइरहेका प्रयासका बारेमा बैठकमा जानकारी गराए । 

गृहमन्त्री रामबहादुर थापा गृहमन्त्री

विशेष