विदेश

फिलिपिन्समा पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता

फिलिपिन्समा पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता

फिलिपिन्स । फिलिपिन्सको मध्यक्षेत्रमा बिहीबार गएको पहिरोमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने घटनामा दर्जनौँ मानिस घाइते भएका एक प्रत्यक्षदर्शीले बताएका छन् । 

 

फिलिपिन्समा गत हप्ता आएको आँधीले छोडेका घाउ निको हुन नपाउँदै मनसुन बर्षापछि चुना र माटोसहितको भिरालो जमिन भत्किँदा कम्तीमा दश घरहरू पुरिएका छन् । फिलिपिन्समा हालै आएको म्याङ्कुट नामक आँधीमा ८८ जनाको ज्यान गुमेको थियो भने अझै केही वेपत्ता रहेका छन् । 

 

बिहीबार बिहानै पर्यटकीय टापूस्थित रहेको टिना–एन गाउँमा गएको पहिरोमा परी थुप्रै घरहरू परेको सूचनासँगै आपतकालीन सेवाका लागि सुरक्षाकर्मीको दर्जनौ उद्धारकर्मीहरू, स्थानीय जनता तथा संघसंस्था घटनास्थलमा पुगेका छन् । 

 

आँधीपछि फिलिपिन्सको उत्तरी क्षेत्र आक्रान्त बनिरहेका समय निरन्तरको बर्षापछि गएको पहिरोमा १० बटा घर परेको र चारतलासम्म घरहरूलाई पहिरोले पुरेको प्रत्यक्षदर्शी जोन राय रेपुएस्टो इकाभेजले बताए । उनका अनुसार पहिरोमा परेका १२ जनाको मृत शरीरलाई पहिरोबाहिर निकालिएको छ भने पहिरोमा अझै दर्जनौ स्थानीयहरू पसेका छन् । 

 

इकाभेजले एएफपीसँग भने, “मेरो छिमेकी आफ्नी दिदीको घर अगाडी रोइरहेकी थिइन् । उनको दिदीको घरको कुनै सदस्य पनि भेटिएका छैनन् । घरको नाम निशानै देखिँदैन ।” 

 

प्रत्यक्षदर्शी अर्का एक स्थानीयले भने, “पहिरोमा परी घाइते अवस्थामा परेका केही व्यक्तिलाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ । १२ जनाको मृत शरीर भेटिएको छ भने करिब ५० जना सम्पर्कबाहिर रहेका हाम्रो अनुमान रहेको छ ।” 

घटनास्थलमा करिब १०० जनाभन्दा बढी व्यक्तिले एक्सकाभेटर तथा अन्य ठूला उद्धारसामग्रीको सहयोगमा उद्धारको काम गरिरहेका छन् । उक्त क्षेत्रका नागरिक सुरक्षा मामिला हेर्ने अधिकारीले सेबु पहिरो, बाढीजस्ता प्राकृतिक प्रकोपजन्य घटना विरलै हुने गरेको क्षेत्र भएको र उक्त क्षेत्र हालैको आँधीमा पनि सुरक्षित रहेको क्षेत्र रहेको बताए ।
 

फिलिपिन्स पहिरोमा परी १२ जनाको मृत्यु

विशेष