आत्मरक्षाका लागि महिलालाई निःशुल्क ‘किक र पञ्च’ हान्न सिकाइने !
धनगढी, असोज ६ । देशमा बढ्दै गरेका बलात्कार तथा महिलामाथि हुने हिंसाको न्यूनिकरण गर्ने उद्देश्यले कैलालीको धनगढीमा आत्मरक्षा सम्बन्धी शिविरको आयोजना गरिने भएको छ ।
शिविर राष्ट्रिय गोजुरियो कराते दो सङ्घको आयोजनामा असोज २० गतेबाट सुरु हुने सङ्घका महासचिव प्रकाश चन्दले जानकारी दिए । यो शिविरमा महिलाहरूलाई आत्मरक्षाका लागि सात दिनसम्म विभिन्न कुराहरु सिकाइने छ । शिविर धनगढीमा हुँदैछ ।
महिलाको क्षेत्रमा काम गर्दै आइरहेको आरेक नेपाल, कमैया प्रथा उन्मुलन समाज, युवा शान्ति परिषद्, क्रियाशील महिला पत्रकार समूहको सहयोगमा आत्मरक्षा सम्बन्धी शिविरको आयोजना गर्न लागिएको शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय गोजुरियो कराते दो सङ्घले जनाएको छ ।
शिविर सञ्चापछि महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटना न्यूनिकरणकमा शिविरले सहयोग पुग्ने अपेक्षा गरिएको सङ्घका महासचिव चन्दले बताए ।
‘प्रदेश ७ मा मात्रै नभएर देशमै बलात्कारपछि हत्याका घटना बढ्दै गएका छन् । हामी शिविरमा लड्न हैन, किक र पञ्चका माध्यमबाट आत्मरक्षा गर्न सिकाउँछौ ।’ चन्दले भने, ‘कसैले महिलामाथि नराम्रो व्यवहार गर्न खोज्यो त्यसबाट बच्न सक्ने बनाउँछौ ।’
असोज २० गतेबाट महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी सात दिने शिविरमा प्रदेश ७ का एक हजार महिलाको सहभागिता रहने छ ।
सहभागी एक हजार महिलाबाट उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र उनीहरूले सम्बन्धित स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गर्नेछन् ।
चन्दले भने, ‘शिविरमा कम्तीमा पनि एक हजार महिलालाई सहभागी गराउने लक्ष्य छ । त्यसमा पिडीत महिलादेखि तेस्रो लिङ्गीको पनि सहभागी हुदैछ ।’
प्रदेश ७ बाट सुरु गरिने महिलाका लागि आत्मरक्षा सम्बन्धी शिविर प्रदेश एकको बिर्तामोडमा समापन गरिने आयोजकले जानकारी दिएको छ ।
महिलाको क्षेत्रमा काम गर्दै आइरहेको आरेक नेपालका संयोजक विनु रानाले यसलाई अन्य प्रदेश र प्रत्येक स्थानीय तहमा पनि सञ्चालन गरिने बताइन् ।
‘महिलाका लागि आत्मरक्षा सम्बन्धी शिविरलाई अभियान बनाएर सात वटै प्रदेशमा सञ्चालन गर्छौ ।’ उनले भनिन, ‘महिलालाई ढुङगा मुढा हैन, आत्मरक्षाका लागि किक र पञ्च हान्न सिकाउँछौ । यसले महिलामाथि हुने हिंसा न्यूनिकरणमा सहयोग पु¥याउने छ भने सुरक्षित समेत बनाउने छ ।’ शिविर निःशुल्क गरिने पनि सङ्घले जनाएको छ ।
बलात्कार कैलाली राष्ट्रिय गोजुरियो कराते दो सङ्घ