पत्रकार घिमिरेद्वारा पुरस्कार रकम मानव सेवा आश्रमलाई
काठमाडौं । देशसञ्चार अनलाइनका सम्पादक युवराज घिमिरेले आफूले पाएको ‘गोपालदास पत्रकारिता पुरस्कार’को रकममा देशसञ्चारका तर्फबाट रकम थप गरी मानव सेवा आश्रमलाई प्रदान गरेका छन् ।
सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी घिमिरेले आफूले पाएको पुरस्कार रकम एक लाख पाँच हजार रुपैयाँ र देशसञ्चारका तर्फबाट थप गरिएको ५२ हजार ५ सय गरी एक लाख ५७ हजार ५ सय रुपैयाँ मानव सेवा आश्रमलाई प्रदान गरेको घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उनलाई शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘गोपालदास पत्रकारिता पुरस्कार’बाट सम्मानित गरेकी थिइन् । घिमिरेले मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई संस्थाकै कार्यालयमा आयोजित कार्यक्रममा सो रकम हस्तान्तरण गरेका हुन् ।
देशसञ्चार अनलाइन युवराज घिमिरे मानव सेवा आश्रम