News

२६ करोड लागतमा निर्माण केबुलकारको सफल परीक्षण

२६ करोड लागतमा निर्माण केबुलकारको सफल परीक्षण

चरिकोट । दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । 

 

 

मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो । 

 

 

दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । 

 

पहिलो चरणमा १५ देखि २० दिनसम्म परीक्षण गर्नुपर्ने भएकाले तीन दिनदेखि गोण्डला राखेर इञ्जिनियरिङ परीक्षण भइरहेको छ । धार्मिक पर्यटकीय क्षेत्र कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म ९०० मिटर लामो दूरीको केबुलकार निर्माण गरिएको हो । 

 

 

दशैँअघि देखि नै व्यावसायिक सञ्चालनमा आउने तयारीका साथ केबुलकार निर्माणको काम गरिरहेको भए तापनि स्विटजरल्याण्डबाट प्राविधिक आइनपुगेका कारण केही ढिला हुन गएको कालीञ्चोक दर्शन प्रालिका कार्यकारी निर्देशक बालकृष्ण शिवाकोटीले जानकारी दिए । 

 

 

दशैंलगत्तै स्विटजरल्याण्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इञ्जिनियर आइपुग्ने र केही दिनको परीक्षणपश्चात् मङ्सिरबाट मात्र पूर्णरुपमा सञ्चालनमा आउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए ।

 

 

२६ करोडमा केबुलकार निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण शुरु गरेको कम्पनीको लागत बढेर रु ४० करोड पुगेको कम्पनीले जनाएको छ । 

 

 

शुरुमा २६ करोडमा निर्माण गर्ने भनिए तापनि निर्माण अवधि बढेको र सामानमा मूल्य वृद्धि हुनाका साथै नयाँ नियम नबनेको भन्दै सरकारले भन्सार छुट नगर्दा लागत बढेको कम्पनीका निर्देशक बालकृष्ण शिवाकोटीले बताए। 
 

केबुलकार दोलखा परीक्षण सफल

विशेष