News

प्रतिनिधिसभाबाट राहदानी विधेयक पारित

प्रतिनिधिसभाबाट राहदानी विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाले ‘राहदानी विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले सो विधेयकलाई पारित गरियोस् भनी सदनसमक्ष प्रस्तुत गरेका थिए । 

 

यसअघि बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिवेदन सहितको राहदानी विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । 

 

सो छलफलमाथि सांसद प्रेम सुवालले कूटनीतिक राहदानीको व्यवस्था विधेयकमा स्पष्टरुपमा नआएको बताए । विधेयकको छलफलमा सांसद देवप्रसाद गुरुङ र पवित्रा निरौला खरेलले भाग लिएका थिए । 

 

गृहमन्त्री थापाले राहदानी विधेयकलाई संशोधन गर्न बनेको विधेयकमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा लामो छलफल भएको जानकारी दिए । हालसम्म ५६ लाख राहदानी जारी भएको जानकारी दिँदै मन्त्री थापाले राहदानीलाई समयसापेक्ष परिवर्तन गर्न नयाँ विधेयक आएको हो बताए । 

 

यसअघि विशेष समयमा सांसद रामकुमारी झाँक्रीले मेलम्ची खानेपानी आयोजनालगायत अन्य विकास निर्माणलाई समयमै सम्पन्न गर्न र समयमा निर्माण काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

 

सांसद सत्या पहाडीले महिलाजन्य हिंसा, बलात्कार, तेजाव प्रहार आदि घटनाका दोषीमाथि कारवाही गर्न माग गरिन् । सांसद अञ्जना विशङ्खेले महिलामाथि हुने हिंसा तथा भेदभावका विरुद्ध सरकारले अभियानकै सचेतनात्मक कार्यक्रम अघि बढाउनुपर्ने धारणा व्यक्त गरे । 

 

सांसद विमला विकले दलित महिलामाथि भएका हिंसा रोक्न सरकार गम्भीर बन्न आग्रह गरिन् । सांसद रामेश्वर रायले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आर्थिक पक्षलाई सुनिश्चित गराएपछि मात्र काम सुरु गर्न आग्रह गरे । 

 

सांसद जुलीकुमारी महतोले तराई मधेसलाई विखण्डन गर्नुपर्छ भन्ने विखण्डनकारी र राष्ट्रघातीमाथि कारवाही गर्न माग गरिन् । सांसद लीलानाथ श्रेष्ठले हुलाकी सडकको कमला नदीमाथि पुल बन्न शुरु भएको पाँच वर्ष बितिसक्दा पनि सम्पन्न नभएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै समयमा विकास आयोजना सम्पन्न नगर्ने निर्माण कम्पनीमाथि कारवाही गर्न माग गरे । प्रतिनिधिसभाको अर्को बैठक असोज ११ गते बिहीबार १ बजे बस्नेछ । 

प्रतिनिधिसभा

विशेष