News

केराले बजार नपाएपछि भैंसीलाई कुँडो !

केराले बजार नपाएपछि भैंसीलाई कुँडो !

खोटाङ । केरा पकेट क्षेत्रका किसान बजार नपाएपछि चिन्तित बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका किसान सडक असुविधाका कारण उत्पादन गरेको केरा बिक्री गर्नबाट वञ्चित छन् । 

 

 

विजयखर्कको बसेरी ढकालबेँसी क्षेत्रमा पर्याप्त मात्रामा केरा उत्पादन हुन्छ । केराले बजार पाउन सकेको छैन । केरा पकेट क्षेत्रमा नगरपालिको रु तीन लाख तथा स्थानीयवासीको पाँच लाख बराबरको श्रमदानमा सात हजार बिरुवा रोपिएको छ । 

 

 

त्यहाँ तीन प्लाष्टिक पोखरी निर्माण गरिनाका साथै चिस्यानको समेत व्यवस्था गरिएको छ । केरा उत्पादनलाई व्यावसायिक तथा आम्दानीमूलक बनाउन नगरपालिकाबाट पारित भएको कृषि पकेट क्षेत्रको अवधारणाअनुरुप उक्त क्षेत्रलाई केरा पकेट क्षेत्र निर्धारण गरिएको छ । 

 

 

स्थानीयरुपमा गठित दुई कृषक समूहको पहलमा सो क्षेत्रलाई गत वैशाखमा केरा उत्पादन पकेट क्षेत्र निर्धारण गरिएको थियो । परम्परागत खेती प्रणालीबाट केरा पर्याप्त उत्पादन हुने सो क्षेत्रमा श्रम र लगानी बढाए उत्पादनमा वृद्धि गर्न सकिने कृषक समूहका अध्यक्ष वाणिबेलास ढुंगानाले बताए । 

 

 

बजारको अभावमा उत्पादित केरा भैंसीको कुँडो बनाउन प्रयोग गरिँदै आएको छ । बजारकै चिन्ताले कतिपयले केरा खेती घटाउँदै गएका छन् । 

खोटाङ केरा पकेट क्षेत्र

विशेष