नाबालिकादेखि अपांगता भएकी महिलालाई बलात्कार गर्ने ३ जना पक्राउ
भोजपुर । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ ।
पक्राउ पर्नेमा भोजपुरका साल्पासिलिछो गाउँपालिका-४ मेम्पाङका १६ वर्षीय सन्देश राई भनिने सविन, भोजपुर नगरपालिका-१ डाँडा बोखिमका २५ वर्षीय मदन राई र हतुवागढी गाउँपालिका-६ माटोखानी टोलका २५ वर्षीय छत्रमान राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, भोजपुरका साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङका पाँच वर्षीया बालिकालाई असोज ६ गते करणी गरेको अभियोगमा सन्देशलाई पक्राउ गरेको छ ।
त्यस्तै असोज २ गते १५ वर्षीया बालिकालाई स्थानीय पञ्चमाया राईको कोदोबारीमा लगेर बलात्कार गरेको अभियोगमा मदन राईलाई र असोज २ गते नै स्थानीय ४७ वर्षीय अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा छत्रमान राईलाई पक्राउ गरेको छ ।
पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए ।
जिल्लामा एक सातामा तीन वटा बलात्कार घटना घटेका छन् । यसरी बलात्कारका घटना दिनानुदिन बढ्न थालेपछि अनुसन्धान तथा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको भोजपुरका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए ।
भोजपुर बलात्कार पक्राउ