मनसुन सकिने बेलामा पनि अझै वर्षा हुने

काठमाडौं । मनसुनले बिदा लिनेबेला सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै केही दिन वर्षा हुने सम्भावना रहेको छ।विभागका महानिर्देशक डा. ऋषिराम शर्मा नेपालको पश्चिमी भागमा अझै पनि पानी परिरहेको बताउँछन्।
पछिल्लो समय सुदूरपश्चिम तथा मध्यपश्चिममा परेको वर्षाका कारण सोही क्षेत्रका विभिन्न भाग डुबानमा समेत परेका छन् । विगतका वर्षको तुलनामा यस वर्ष धेरै वर्षा भएको विभागले जनाएको छ । नेपालमा पाँच महीनाको अवधिमा भारी वर्षा, बाढी र पहिरोका कारण १ सय १७ जनाको ज्यान गएको छ ।
यसैबीच गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा वैशाखदेखि भदौ १७ सम्म मुलुकका विभिन्न भागमा एक हजार ५८४ दुःखका घटना भएको जानकारी दिएका थिए।
चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरोको सङ्ख्यामा वृद्धि भएको छ । वर्षात्को पानी रोक्ने रुख कटान हुँदा सोझै जमीनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको बताइन्छ ।