News

अब नेपाली बुलेटले नै ग्यास ढुवानी गर्ने

अब नेपाली बुलेटले नै ग्यास ढुवानी गर्ने

 


काठमाडौं । अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच शुक्रबार भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन् । 

 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच राजधानीमा भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा त्यस्तो सहमति भएको हो । 

 

 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्यास बुलेटले नै एलपिजी ग्यास ढुवानी गर्ने दुई पक्षीय सहमति भएको जानकारी दिए । उनले रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा भारतीय पक्षसँग छलफल भएको जानकारी दिँदै प्राकृतिक ग्यास प्रवाहका लागि सर्वेक्षण अध्ययन गरिने बताए ।

 

 

मन्त्री प्रधानले मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको काम दू्रतगतिमा भइरहेकामा नेपाल र भारतका अधिकारीले त्यसमा सन्तोष व्यक्त गरेका बताउँदै शिघ्र परियोजना सम्पन्न गर्न नेपाल सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । 

 

 

उनले भारतले मुजफ्फपुर–मोतिहारी–गोरखपुर प्राकृतिक ग्यासको पाइपलाइन बिछ्याइएको र नेपाललाई त्यसबाट कसरी फाइदा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा पनि आफूहरूबीच विचार विमर्श भएको बताए । 

 

 

मन्त्री प्रधानले नेपालमा मल कारखाना स्थापना गर्न भारतका केही कारखानाको निरीक्षणका निम्ति नेपालका उद्योग वाणिज्य तथा आपूर्ति र कृषिमन्त्रीलाई भारत भ्रमण गर्न आमन्त्रण गरिएको जानकारी दिए। 
 

ग्यास बुलेट मातृका यादव धर्मेन्द्र प्रधान

विशेष