News

चाडपर्वलाई लक्षित गर्दै भक्तपुरमा विशेष सुरक्षा योजना

चाडपर्वलाई लक्षित गर्दै भक्तपुरमा विशेष सुरक्षा योजना

काठमाडौं । नेपालीको महान् चाडपर्वका समयमा हुने विभिन्न प्रकारका चोरी, डकैती, लुटपाट तथा अपहरणजस्ता कार्य नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर भक्तपुरले शान्ति सुरक्षा प्रदान गर्न २४ सै घण्टा सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । 

 

 

बडादशैं, तिहार छठका अवसमा जिल्लामा शान्ति सुरक्षालाई भरपर्दो तथा प्रभावकारी बनाउन परिसर तथा मातहतका प्रहरी एकाइका कार्यरत मौजुदा प्रहरी जनशक्ति तथा साधनस्रोत परिचालन गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

 

 

चाडपर्वमा सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजि आवास, व्यापारिकस्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोवार हुने स्थान तथा मानिसको चहलपहल बढी हुने ठाउँलाई उच्च प्राथमिकता दिँदै अघि बढ्ने भएको छ । 

 

 

प्रहरीले चाडपर्वका समयमा हुन सक्ने उच्छ्रृङ्खलता, झैझगडा, कुटपिट, तास, जुवा, लङ्गुरबुर्जाजस्ता सामाजिक रुपमा विकृति फैलाउन सक्ने कार्यलाई नियन्त्रणमा लिई शान्तिपूर्ण पर्वका रुपमा मनाउने वातावरण सिर्जना गरिने जनाएको छ । 

 

 

अवाञ्छनीय गतिविधि नियन्त्रण गर्न प्रहरीले सादा पोशाकमा पनि प्रहरी परिचालन गर्ने भएको छ । त्यस्तै भक्तपुर जिल्लाभर पैदलगस्ती गर्ने र सोको मोबाइल गस्तीबाट अनुगमन गरिने विज्ञप्तिमा जनाइएको छ ।

 

 

त्यस्तै भक्तपुर प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने, घरेलु मदिरा नियन्त्रण गर्ने अभियान सञ्चालन गर्ने, विभिन्न प्रकारका प्रचारमूलक काम गर्ने, टोलटोलमा प्रहरी कार्यक्रमलाई प्रभावकारी बनाउने जस्ता जनमुखी कार्य गर्ने जनाइएको छ । 

चाडपर्व बडादशैं छठ तिहार

विशेष