News समाज

शक्तिखोरमा युद्ध संग्रहालय बनाउने तयारी

शक्तिखोरमा युद्ध संग्रहालय बनाउने तयारी

चितवन । द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायत सङ्कलन गरेर युद्ध संग्रहालय बनाउने गृहकार्य सुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध संग्रहालय निर्माणको पहल सुरु गरिएको हो । 

 

सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड स्वयंले शक्तिखोरमा युद्ध संग्रहालय बनाउनुपर्ने घोषणा गरेपछि गृहकार्य सुरु भएको बताए । श्रेष्ठले विश्वका द्वन्द्व भएका मुलुकमा संग्रहालय रहेको भन्दै कुन ठाउँमा कस्तो संग्रहालय बनाउने भन्ने विषयमा छलफल भइरहेको बताए । 

 

सो क्षेत्रका प्रदेश सांसद घनश्याम दाहालले पूर्व लडाकुहरु रहेको तेस्रो डिभिजनमा हाल नेपाली सेना रहेको भन्दै सेना हटेर औद्योगिक क्षेत्र बन्ने क्रममा ठाउँमा युद्ध संग्रहालय बनाइने बताए । सो क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बन्ने प्रक्रिया अघि बढिरहेको छ । दाहालले १० वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने कला कुँदेर देखाइने बताए। युद्ध संग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने उनले बताए । 

 

सो क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले विश्वका युद्ध भएका विभिन्न मुलुकमा युद्ध झल्कने संग्रहालय रहेको बताए । ती ठाउँहरु स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने भएकाले चितवनको शक्तिखोरमा युद्ध संग्रहालय बनाउन सकेमा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने बताए । 
 

शक्तिखोर युद्ध संग्रहालय

विशेष