News

प्रहरीद्वारा सचेतना अभियान सुरु, विद्यार्थीलाई पढाउँदै प्रहरी

प्रहरीद्वारा सचेतना अभियान सुरु, विद्यार्थीलाई पढाउँदै प्रहरी

चितवन । जिल्ला प्रहरी कार्यालयले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रण र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान शुरु गरेको छ । जिल्लाका विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई लक्ष्य गरी सो अभियान थालिएको हो । 

 

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार विद्यार्थीलाई कक्षाकोठामा राखेर प्रहरी अधिकृतले नियमित रूपमा लागूऔषध दुव्र्यसन, साइबर अपराध तथा मानव बेचबिखन, मदिरा सेवन र सवारी दुर्घटनासम्बन्धी चेतनामूलक प्रशिक्षण दिइरहेका छन् ।

 

गत भदौ २५ गतेदेखि जिल्लाका विद्यालयमा क्रमशः कक्षा सञ्चालन गरिँदै आएको छ । पाठ्यक्रममा यस्ता विषय नहुँदा समाजमा विकृति, विसंगति बढ्दै गएपछि प्रहरीले अभियानका रूपमा कक्षा सञ्चालन गरेको हो । 

 

विद्यार्थीले आफूले सिकेको कुरालाई अभिभावक र समाजसम्म पु¥याउने हुँदा यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहका महानगर, नगर, गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरिएको छ ।

 

नियमित कक्षासँगै विभिन्न निकायसँग छलफल, पर्चा, ब्रोसर र होडिङबोर्ड तयार गरी चेतनामूलक सन्देश एवं तस्बीर प्रकाशन गर्ने काम पनि प्रहरीले गरेको छ । अभियानअन्तर्गत विभिन्न सडक नाटक, वृत्तचित्त एवं सन्देशमूलक श्रव्यदृश्य सामग्री तयार गरी देखाउने काम भइरहेको छ ।

 

पछिल्लो समय समुदायमा महिला हिंसा, लागूऔषध दुव्र्यसनी, साइबर अपराध, मानव बेचबिखन, मदिरा सेवन, सवारी दुर्घटनाको क्रम बढेपछि प्रहरी सो अभियानमा जुटेको हो ।
 

जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका हिंसा तथा लागूऔषध नियन्त्रण सचेतना अभियान

विशेष