News मुख्य समाचार समाज

निर्मला पन्त हत्या झन् रहस्यमय, एसपी बिष्टको डिएनए रिपोर्ट फरक

निर्मला पन्त हत्या झन् रहस्यमय, एसपी बिष्टको डिएनए रिपोर्ट फरक

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज बिष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । 

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं निर्मला हत्याकाण्डका अनुसन्धान अधिकृत कृष्णराज ओझाले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक बिष्ट, उनका छोरा किरणराज बिष्ट र भीमदत्तनगरका स्थानीय युवा आयुश बिष्टको डिएनए रिपोर्ट आएको जानकारी दिए । प्रहरी नायब उपरीक्षक ओझाले तीनै जनाको रिपोर्ट मेल नखाएको बताए । ‘हिजो काठमाडौंबाट प्राप्त भएको रिपोर्ट आइतबार बिहान जिप्रकामै खोलेर हेर्दा नेगेटिभ देखियो’, उनले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान तीव्र गतिमा हुँदैछ ।’ 

 

गत साउन १० गते बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी निर्मलाको साउन ११ गते शव भेटिएको थियो । यसअघि घटनाको मुख्य अभियुक्त बनाइएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टको पनि डिएनए परीक्षण गरिएको थियो । विष्टको पनि रिपोर्ट मेल नखाएपछि उनलाई हिरासतमुक्त गरिएको थियो । भीमदत्तनगरमा आन्दोलनका क्रममा प्रहरी उपरीक्षक बिष्टकै डिएनए परीक्षण गर्नुपर्ने माग उठेपछि केही समयअघि परीक्षणका लागि रगत लिइएको प्रहरीले जनाएको छ । 

 

‘रिपोर्ट जस्तो आए पनि प्रहरीको अनुसन्धान चलिरहेकै छ’, ओझाले भने, ‘प्रहरीका धेरै टिम अनुसन्धानमा जुटेका छन् ।’ कञ्चनपुरमा अहिले पनि विभिन्न महिला एवं दबाब समूहले निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् । 

निर्मला पन्त हत्या

विशेष