विदेश

कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो

कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो

दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर यी बच्चाहरु विशिष्ट किसिमका छन् । 

 

 

‘यी बच्चाहरु कृत्रिम गर्भाधानबाट जन्माइएका हुन् । विश्वमै यो पहिलो प्रयोग हो,’ प्रिटोरिया विश्वविद्यालयले घोषणा गरेको छ । यो विश्वविद्यालयका वैज्ञानिकहरु पोथी अफ्रिकी सिंहको प्रजनन प्रणालीबारे अध्ययन गरिरहेका छन् । 

 

 

सिंहले गत अगस्ट २५ मा दुईवटा बच्चा जन्मायो, एउटा भाले र अर्को पोथी । तिनीहरु दुवै स्वस्थ र सामान्य छन्, विश्वविद्यालयका अनुसन्धान निर्देशक आन्द्रे ग्यान्सविन्टले बताए । उनको टोलीलाई १८ महिनाको गहन परीक्षणपछि यस्तो सफलता प्राप्त भएको हो । 

 


उनले यो सफलतालाई विस्तार गर्न सकिने बताए । वैज्ञानिकहरुले यो विधिलाई प्रयोग गरी अन्य सङ्कटापन्न बाघ, सिंह, चितुवाजस्ता प्राणीको संरक्षण गर्न सकिने बताएका छन् । 

 

 

अफ्रिकाका २६ वटा मुलुकबाट सिंह बिलुप्त भइसकेका छन् र सिंहको संख्या दुई दशकभित्रै करिब ४३ प्रतिशतले घटेको छ । अहिले विश्वभर करिब २० हजार मात्र सिंह बाँकी रहेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले जनाएको छ । संघले अफ्रिकी सिंह सबैभन्दा जोखिममा रहेको बताएको छ । 

 

 

उनले सिंहलाई नै एक ठाउँबाट अर्को ठाउँमा प्रजननका लागि लैजानु पर्ने अवस्थाको अब अन्त्य भएको बताए । नयाँ प्रविधिको प्रयोग मार्फत अब सिंहको विर्यमात्र एक ठाउँबाट अर्को ठाउँमा लगे पुग्ने अवस्था सिर्जना भएको छ । 

 

 

 

उत्तरी अमेरिका र युरोपमा समेत हात्तीको प्रजनन गराउन यस्तै प्रविधि प्रयोगमा आउन थालिसकेको छ । सिंहमाथिको यो परीक्षण राजधानी प्रिटोरियाभन्दा करिब ८० किलोमिटर उत्तरपश्चिमको उकुटुला संरक्षण केन्द्रमा गरिएको थियो । -एजेन्सी

दक्षिण अफ्रिका सिंह प्रिटोरिया

विशेष