दशैंको मुखमा सीमावर्ती क्षेत्रमा तस्करी तीब्र
वीरगञ्ज । दशैं नजिकिदैँ जाँदा वीरगञ्ज–रक्सौल नाकामा अहिले खरिदकर्ताको चाप बढ्दै गएको छ । चाडपर्वले गर्दा खरिदबिक्री तीब्रसँगसगै सीमावर्ती क्षेत्रमा तस्करी पनि तीब्र हुन थालेको छ ।
राती भएपछि भारतीय बजारबाट क्यारियर मार्फत सीमा कटाएर नेपालतिर भण्डारण गरी ती तस्करीको सामान वीरगंज, हेटौडां, चितवन, पोखरा, काठमाडौंसम्म आइपुग्छ ।त्यसैक्रममा एउटा तस्करको गोदाममा प्रहरीले छापा हानी लाखौ मुल्य बराबरको सामान बरामद गरेको छ ।
शुक्रबार वीरगञ्ज–१ छपकैयाका राजेश साह तेली र उमरावती देवीको घरमा गोदामझै भण्डारण गरिएको १३ लाख मुल्य बराबरको समान बरामद गरिएको वीरगञ्ज भन्सार पठाइएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए ।
बरामद गरिएको सामानमा अधिकांश रेडिमेड कपडा र साडीहरु रहेका छन् । भन्सार छली गरी भण्डारण गरिएको सूचनाको अधारमा पर्सा प्रहरीले सीमावर्ती टोल छपकैयाका ति दुई जनाको घरमा छापा मारेको थियो । प्रहरी टोली घरमा पुग्दा घरधनी फरार भएको समात्न नसकेको प्रहरीले दावी गरेको छ ।
सर्ट कपडा ५६ थान, बच्चाको कपडा २ सय ३५ थान, अस्तर ८२ थान, टप्स १९ थान, सर्ट १२ थान, पाइन्ट कपडा २० मिटर, सेन्डो, पेन्टी १ सय ६ थान बरामद गरेको हो ।
यस्तै बच्चाको कोट ८ थान,सर्टिङ कपडा १८ सय मिटर, कुर्ता सलवार ६ सय ५४ थान, सुर्टिङ कपडा १ सय ४० मिटर, प्रिन्ट कपडा ५ सय ८० मिटर,ब्लाउज कपडा २ सय ३९ थानलगायत कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी तीस हजार मुल्य बराबरको पेन्टी र डेढ क्विन्टल तस्करीको मरिच पनि बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता सत्यनारायण थापाले बताए ।
२५ किलोका दरले ६ बोरा वेवारिसे अवस्थामा सीमावर्ती क्षेत्रबाट मरिच बरामद गरिएको हो । मरिचको बजार मुल्य अन्दाजी १ लाख २० हजारको अनुमान गरिएको हो । बरामद गरिएका सामाग्रीहरु आवश्यक कारबाहीका लागि वीरगंज भन्सार पठाइएको प्रहरीले जनाएको छ ।