News

उपत्यकामा टिपर र ट्रकबाट हुने दुर्घटनामा कमी

उपत्यकामा टिपर र ट्रकबाट हुने दुर्घटनामा कमी

काठमाडौ । काठमाडौं उपत्यकामा टिपर तथा ट्रकबाट हुने दुर्घटनामा कमी आएको छ । दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि दुर्घटनामा कमी आएको हो । 

 

उपत्यकामा चालू आर्थिक वर्षको साउन र भदौमा ट्रक तथा टिपर सवारी साधनको दुर्घटनाबाट तीनजनाको ज्यान गएको छ । 

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४÷०७५ मा एक हजार ५८० यस्ता सवारी साधनबाट भएको दुर्घटनामा ४५ जनाको ज्यान गएको थियो । जसमध्ये २०७४ को साउन र भदौमा मात्र ती सवारी साधनका कारण सातको मृत्यु भएको थियो । 

 

टिपर दुर्घटनाबाट पैदलयात्रु र साना सवारी चालकको मृत्युका घटना बढेकाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका थिए । 

 

साउन १ गते काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ट्रक तथा टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । 

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त दिउँसोको समयमा त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाएकै कारण दुर्घटनामा कमी आएको बताए । 

काठमाडौं उपत्यका रामबहादुर थापा ‘बादल’ टिपर तथा ट्रक

विशेष