तीन सय रुपैयाँमा बिवाह सम्पन्न !
काठमाडौं । अहिले बिवाह गर्न सानोतिनो रकमले पुग्दैन । बिवाहमा लाखौं रुपैयाँ खर्च भएको तपाइले पनि सुन्नु र भोग्नु भएको होला । तर एक जना जोडीले भने ३ सय रुपैयाँमा बिहे सकाएका छन् । सुन्दा अचम्म लाग्न सक्छ । तर यो कुरा यर्थाथ हो ।
शिक्षा अभियन्ता उत्तम सञ्जेलले ३ सय रुपैयाँ बिवाह सम्पन्न गरेका हुन् । ४१ वर्षको उमेरमा बिवाह गरेको उनले गुहेश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले सुन्दरीजलकी कला अधिकारीसँग बिहे गरे ।
सञ्जेलले २५ रुपैयाँको सिन्दुर, ७५ रुपैयाँको पोते र १ सय रुपैयाँका दुई मालामा बिहे सकाए । उनले अत्यन्तै कम खर्चमा बिहे गरेर फजुलखर्चीहरुलाई चुनौती दिएका छन् ।
बेहुला उत्तमले ‘समता स्कुल इन्डिया’ लेखिएको टिसर्ट लगाएका थिए । खुट्टामा चप्पल थियो । बेहुली कलाले रातो कुर्ता-सुरुवालमा घुम्टो ओढेकी थिइन् ।
बिहेमा करिब १ दर्जन व्यक्तिहरु उपस्थित थिए । दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित थिएनन् । परिवारका सदस्यहरु निम्त्याउँदा ‘उपहार लेनदेन’ को कुरा आउन सक्ने भएकाले नबोलाएको सञ्जेलले बताए ।
सञ्जेलले कलालाई सिन्दुर पोते र माला लगाइदिएका थिए । त्यसपछि उनले २ मिनेट बोलेपछि बिहे सम्पन्न भएको थियो । बेहुली कला भने लजाएर बोल्न मानिनन् ।
बिहेपछि भोजका रुपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबैलाई सुगर फ्री लड्डु बाँडेका थिए । लड्डुको प्रायोजन उनीहरुकै थियो ।
पण्डित नबोलाई गरिएको बिहेमा आफ्नो जम्मा तीन सय रुपैयाँ मात्र खर्च भएको उत्तमले जानकारी दिए । उत्तम र कलाको ४ महिना अगाडि मात्रै चिनजान भएको हो ।
उत्तमले सञ्चालन गर्ने १ सय रुपैयाँमा उपचार गरिने समता हस्पिटलमा हेल्थ असिस्टेन्टका रुपमा कला कार्यरत छिन् । कार्यक्षेत्रमै रहेका बेला उनीहरु प्रेममा परेका थिए ।
उत्तम सञ्जेल शिक्षा अभियन्ता कला अधिकारी