News

फरार अभियुक्त ७ वर्षपछि पक्राउ

फरार अभियुक्त ७ वर्षपछि पक्राउ

दाङ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१० मा २०६८ असार २८ गते धारिलो हतियार प्रहार गरी टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका-१ भालुबाङका कुमवीर बुढालाई प्रहरीले पक्राउ गरेको हो । 

 

घर्ती र बुढाले संयुक्तरुपमा दक्षिण अम्राईमा माछा र अल्लो धागोको व्यवसाय गर्दै आएकोमा तीन लाख रुपैयाँको हिसाब नमिलेपछि घर्तीलाई बुढाले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको दाङका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए । 

 

प्रहरीमा गोकर्ण गुरुङको नाममा किटानी जाहेरी परे पनि उनी दोषी नभएको भन्दै प्रहरीले थप अनुसन्धान गर्दै गर्दा प्रहरी निरीक्षक धनदेव साउँदको कमाण्डमा खटिएको टोलीले बुढालाई बागलुङको ढोरपाटन नगरपालिकाबाट नियन्त्रणमा लिएर पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बुढाले घटनापश्चात् फरार रही ढोरपाटनमा आलुखेती गर्दै आएका थिए । 

दाङ घोराही उपमहानगरपालिका टेकबहादुर घर्ती

विशेष