News

पद्मरत्न तुलाधरलाई सम्मान गर्न एकमहिने कार्यक्रम

पद्मरत्न तुलाधरलाई सम्मान गर्न एकमहिने कार्यक्रम

काठमाडौं । तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गरेका पद्मरत्न तुलाधरलाई सम्मान गर्न एकमहीने कार्यक्रम नै चलेको छ । 

 

मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तुलाधरको ज्याःजंक्व (भीमरथारोहण) को एकमहीने कार्यक्रमअन्तर्गत यही भदौ ३० गते उनलाई नागरिक अभिनन्दन गरिँदैछ ।

 

यही भदौ १६ गते वामपन्थी नेता तुलाधरलाई नेवारी परम्परानुसार ७७ वर्ष सात महीना सात दिन ७ घडी तथा ७ पलाको साइतमा भीमरथारोहण पनि गरिसकिएको छ । 

 

तुलाधर नागरिक अभिनन्दन समारोह समितिले भदौ १ गते देखि भदौ ३० गतेसम्म १२ कार्यक्रम गरी उनको सम्मान गरेको छ । अभिनन्दन समारोह समितिका अध्यक्ष शान्तदास मानन्धरले नेवार समुदायमा भीमरथारोहण अति महत्वपूर्ण रहेको र यस दिन मानिस भई जन्म लिएपछि एउटा अध्याय पूरा भएको मानिने बताए । 

 

नेवार समुदायमा शिशु र वृद्धावस्था गरी दुई पटक जंक्व गर्ने चलन छ । नेपाल भाषामा वृद्धावस्थामा गरिने जंक्वलाई बूढोजंक्व र बूढीजंक्व भनिन्छ । बूढोजंक्व गर्दा रथमा बूढाबूढीलाई राखेर आफ्नो टोल छिमेक तथा शहर परिक्रमा गर्ने प्रचलन छ । यस्तो भीमरथारोहण नेवार समुदायमा वृद्धवृद्धालाई तीन पटकसम्म गर्ने प्रचलन छ । 

 

अध्यक्ष मानन्धरले वामपन्थी नेता तुलाधरको राजनीतिक योगदान निक्कै महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, ‘काँग्रेस र कम्युनिष्ट दुबैशक्ति एक ठाउँमा आएपछि मात्र बहुदलीय व्यवस्था पुनःस्थापना गर्न सकिने मान्यता राख्ने तुलाधरले सर्वोच्च कमाण्डर गणेशमान सिंह र त्यसबेलाको वाममोर्चालाई एक ठाउँमा ल्याएका थिए, पछि २०४६ प्रजातन्त्र ल्याउन नेपाली जनता सफल भए ।’ बताए । 
 

नेकपा माओवादी पद्मरत्न तुलाधर

विशेष