News

अवरुद्ध रसुवा राजमार्ग खुला

अवरुद्ध रसुवा राजमार्ग खुला

रसुवा । वर्षाका कारण अवरुद्ध नेपाल-चीनबीच रसुवाखण्डको राजमार्ग बुधबार अपराह्नबाट पूर्णरुपले सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार रसुवागढी नजीकैको पहरो फुटाली नयाँ ट्रयाक खोलिएपश्चात् मालबाहक सवारीसाधन आवतजावत गर्न थालेका हुन् । 

 

राम्चे क्षेत्रमा भने गएराति पहिरो आई पाँच÷छ घण्टा अवरोध आएपनि बिहान ९ बजेदेखि बाटो खुलाइ सकिएको छ । धुञ्चेको त्रिशूली नदी आसपासका दुई पहिरो क्षेत्रमा पनि नयाँ ट्रयाक खोली यातायात सञ्चालन गरिएको छ । 

 

रसुवाखण्डको पासाङ ल्हामु राजमार्ग र स्याफ्रुबेँशी रसुवागढी खण्डमा कुनै अवरोध नआउने, निर्वाधरुपले मालबाहक ट्रक कन्टेनरबाट सामान आयातनिर्यात गर्न सबै व्यवसायीलाई आग्रह गरिएको प्रजिअ पौडेलले बताए । 

 

डिभिजन सडक प्रमुख नीरज शाक्यले रसुवागढी नजीक घट्टेघोला पुल सबलीकरण गर्ने कार्यसमेत सम्पन्न भइसकेकाले अब गल्छी-धुञ्चे-रसुवागढी-केरुङ राजमार्ग सिधा सम्पर्क भइसकेको बताउँदै आकस्मिकरुपमा हुनसक्ने प्राकृतिक प्रकोपबाहेक अन्य समयमा राजमार्ग अवरुद्ध नहुने दाबी गरे ।


स्याफ्रुबेँशी-गोल्जुङ भन्ज्याङबीच वर्षाका कारण अवरुद्ध पासाङल्हामु मार्गसमेत सोमबारबाट सञ्चालनमा आएको छ । साञ्जेन जलविद्युत् आयोजनाले छ दिनको अवधिमा डोजर एवं लोडर प्रयोग गरी सडक सञ्चालन गरेको उक्त आयोजनाका प्रशासकीय अधिकृत सुनिल रेग्मीले जानकारी दिए । 

रसुवा रसुवा राजमार्ग

विशेष