News

कृषि मन्त्रीको आग्रहमा पतञ्जलीको घ्यूको मूल्य बढ्यो

कृषि मन्त्रीको आग्रहमा पतञ्जलीको घ्यूको मूल्य बढ्यो

काठमाडौं । स्वदेशी घ्यूको बजार प्रवर्धन गर्न भारतबाट आयातीय घ्यूको मूल्य बढेको छ । न्यून विजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घ्यूलाई नेपाली घ्यूले प्रतिस्थापन गर्न मूल्य बढाएर महंगो बनाइएको हो ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको विशेष आग्रहमा अर्थमन्त्रालयले बाबा रामदेवले सञ्चालन गरेको पतन्जलीको घ्यू र अमुलको घ्यूको मूल्य बढाएर ४०० भारु अर्थात ६४० रुपैयाँ बनाइएको छ । यसअघि मूल्य २५० भारु थियो ।

 

प्रतिकिलो ६४० रुपैयाँमा ३० प्रतिशत भन्सार महसुल र त्यसमा १३ प्रतिकर भ्याट समेत गरी अब प्रतिकिलो ग्राम घ्यूको मूल्य ९४० रुपैयाँ कायम भएको छ । 

 

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीले प्रति लिटर घ्यू ८५० रुपैयाँमा बेचिरहेको छ । अव नेपाली घ्यूभन्दा भारतीय घ्यू महंगो भएपछि प्रतिष्पर्धा गर्न सजिलो हुने नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए ।

 

मुल्यांकन पनि सस्तो र भन्सार पनि छलेर भारतीय घ्यु नेपाली बजारमा भित्रदा नेपाली डेरी उद्योगहरुले पनि मुल्यांकन बढाउन र भन्सारमा कडाई गर्न अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएका थिए । 

 

त्यसमा डिस्ट्रिब्यूटर, होलसेलर, रिटेलरले थप नाफा खाएर बेच्नु पर्ने हुँदा नेपाली घ्युले प्रतिस्पर्धा गर्न सक्ने भएको छ । राजभण्डारीले भारतीय घ्यूको मुल्यांकन बृद्धिले नेपाली किसानलाई निक्कै राहात महसुस भएको बताए ।

 

खुल्ला सिमानाका कारण कतिपय अवस्थामा भन्सार छलेल पनि भारतीय घ्यु नेपाल भित्रने गरेको किसानको गुनासो छ । सुनौली र भैरहवा नाकाबाट धेरै घ्यु नेपाल भित्रने गरेको छ । नेपाल दुग्ध संस्थानका अनुसार गत साउन महिनामा मात्रै भैरहवा नाकाबाट २० हजार लिटर पतल्जलीको घ्यू नेपाल भित्रेको छ ।

 

काठमाडौंका भाटभटेनी र बिग मार्टहरुमा पतन्जलीको घ्यु नभेटिए पनि साना खुद्रा पसलहरुमा छ्यास्छ्यास्ती पतन्जलीको घ्यू बिक्रि भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

 

नेपालले भारतीय पाउडर दुध पनि आयातमा प्रतिवन्ध लगाएको छ । झण्डै दुईमहिनादेखि पाउडर दूध आयातमा कृषि मन्त्रालयको पहलमा प्रतिवन्ध लगाइएको हो । पहिले नै अनूमति लिएको बाहेक अरु पाउडर नेपाल नभित्रिएको डिडिसीले बताएको छ ।

 

डिडिसी र डेरी उद्योगहरुले भारतीय पाउडर दूधलाई अझै केही समय प्रतिवन्ध लगाउन र आइसक्रिममा पनि भन्सार दर बढाउन माग गरिरहेका छन् ।

चक्रपाणी खनाल घ्यू

विशेष