News

स्वीट्जरल्याण्डद्वारा नेपाललाई २ अर्ब सहयोग !

स्वीट्जरल्याण्डद्वारा नेपाललाई २ अर्ब सहयोग !

काठमाडौं । सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले दुई अर्ब रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने भएको छ । 

 

अर्थमन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थसचिव डा. राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । 

 

चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म रहने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका पालिका (नगरपालिका÷गाउँपालिका) मार्फत कार्यान्वयनमा आउने छ । 

 

यसअघि पनि सो मन्त्रालयले सामी परियोजना पहिलो र दोस्रो चरण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । ती जिल्लाबाट वर्षेनी पाँच हजारभन्दा बढी वैदेशिक रोजगारीमा जाने तथ्याङ्क रहेको छ । 

 

परियोजनाले सुरक्षित आप्रवासनका लागि कानूनी सहायता, तालीम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग पुर्याउने छ । -रासस

स्वीट्जरल्याण्ड अनुदान सहयोग सुरक्षित आप्रवासन परियोजना सामी

विशेष