News

नेपाल–चीन प्रोटोकल बैठक : सबै बन्दरगाह प्रयोग गर्न दिने आश्वासन

नेपाल–चीन प्रोटोकल बैठक : सबै बन्दरगाह प्रयोग गर्न दिने आश्वासन

काठमाडौं । चीनले नेपाललाई सबै बन्दरगाह प्रयोग गर्न दिने आश्वासन दिएको छ। आश्वासन कार्यावन्यनमा आए नेपालले आवश्यताअनुसार चीनका बन्दरगाह उपयोग गर्न पाउनेछ।

 

नेपालले ६ वटा बन्दरगाहसम्म पहु“चका लागि चीन समक्ष प्रस्ताव गरेको थियो। चीनसँगको पारवहन तथा परिवहन सम्झौतालाई अन्तिम रूप दिन आवश्यकपर्ने प्रोटोकल (प्रक्रियागत संहिता)को तेस्रो चरणको छलफलमा नेपालले त्यस्तो प्रस्ताव गरेको हो। राजधानीमा बुधबारदेखि प्रोटोकलका विषयमा नेपाल–चीन संयुक्त बैठक सुरु भएको छ। बैठक दुई दिनसम्म चल्नेछ।

 

नेपालका तर्फबाट छलफलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवीशंकर सैंजूको नेतृत्वमा परराष्ट्र, अर्थ, कृषि, भौतिक पूर्वाधार तथा यातायात, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको सहभागिता छ।

 

चिनियाँ पक्षको नेतृत्व चीनको यातायात विभागका महानिर्देशक वाङ सिपिङले गरेका छन्। सिपिङको नेतृत्वमा नौ जना बेइजिङ र काठमाडौंस्थित चिनियाँ दूतावासबाट दुई जना गरी ११ जना सहभागी छन्।

 

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेका अनुसार छलफलमा नेपाली टोलीले नेपालको सीमा नजिकै मानिएका भिन्न भिन्न ६ बन्दरगाहबाहेक थप बन्दरगाहसम्म पहुँचको प्रस्ताव अघि सारेको छ।

 

यो विषयमा चिनियाँ पक्ष सकारात्मक भएको उनले बताए। चिनियाँ पक्षले ६ वटा बन्दरगाहबाहेक सहज देखिने अन्य बन्दरगाहमा पनि पहुँच दिन सक्ने सकारात्मक संकेत दिएको सचिव घिमिरेले जानकारी दिए। - अन्नपूर्णपाेष्ट दैनिकबाट ।

विशेष