साधुसन्तदेखि नेतासम्मले यसरी सम्झिए ‘जरसाब’ लाई
काठमाडौं । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिका अध्यक्ष स्वर्गीय भरत केशर सिंहलाई बुधबार साधुसन्तदेखि राजनीतिज्ञहरुले स्मरण गरेका छन् ।
जनरल सिंहको निधन भएको ४५ औं दिन पारेर विश्व हिन्दु महासंघले आयोजना गरेको श्रद्धाञ्जलि सभाका वक्ताहरुले उनको व्यक्तित्व र योगदानबारे चर्चा गरेका थिए ।
नेपाली सेनाका सहायक उपरथि, बेलायतका लागि राजदूत रहेर उनले राष्ट्रको सेवा गरेका थिए । उनले मानार्थ शाही
पार्श्वर्तीको उपाधि प्राप्त गरेका थिए भने विभिन्न विभूषण, अलंकार र पदकबाट उनी विभूषित थिए ।
भारतीय ज्यादतिविरुद्ध लड्ने योद्धाः कमल थापा
श्रद्धाञ्जलि सभामा स्वर्गीय सिंहप्रति श्रद्धासुमन अर्पण गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले भारतको नाकाबन्दीविरुद्ध लड्ने सिंह एक योद्धा भएको बताए ।
उनले भने, ‘४५ सालमा भारतले नाकाबन्दी लगाएर नेपालमाथि अत्याचार सुरु गरेको थियो । जरसाब बेलायतका लागि नेपाली राजदूत हुनुहुन्थ्यो । नाकाबन्दी अमानवीय ज्यादति हो भन्ने थाहा पाएर पनि युरोपेली मुलुकहरु बोल्न चाहिरहेका थिएनन् । तर जरसाबको कुशल कुटनीतिक क्षमताले धेरै मुलुकहरुले भारतविरुद्ध विज्ञप्ति जारी गरे । उहाँ भारतीय ज्यादतिविरुद्ध लड्ने योद्धा पनि हुनुहुन्थ्यो ।’
खेलप्रेमी स्वर्गीय सिंह नेपाल स्क्वास संघको अध्यक्ष थिए । अध्यक्ष थापाले नेपालको खेल क्षेत्रको विकासका लागि पनि स्वर्गीय सिंहको योगदान रहेको चर्चा गरे ।
राष्ट्रकै क्षतिः पशुपति शमशेर
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले सिंहको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताए । नेपाली सेनामा रहँदा होस वा अन्य सामाजिक, धार्मिक संघ संगठन धेरैतिर सिंहको कर्मले राष्ट्रको सेवा गरेको राणाले उल्लेख गरे ।
राणाले भने, ‘संसारको एकमात्र हिन्दु राष्ट्र नेपाल हुनु पर्छ भन्ने उहाँको मान्यता थियो । यो मान्यता सहि रहेछ भन्ने अहिले धेरैले महशुस गरिरहेका छन् । सनातन धर्म संस्कृतिको रक्षामा सिंहले पु¥याउनु भएको योगदान महत्वपूर्ण छ ।’
सिंहको योगदान र उनको जीवनीबारे महासंघकी महासचिव अस्मिता भण्डारीले प्रकाश पारेकी थिइन् ।
सिंहको स्मरणमा वैदिक मन्त्रोच्चारण, बौद्ध लामा धर्मगुरुहरुबाट मन्त्रोच्चारण, शिख धर्मावलम्वीहरुबाट मन्त्रोच्चारण गरिएको थियो ।
सभामा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका पूर्वअध्यक्ष हेमबहादुर कार्की, स्वर्गीय सिंहका छोरा÷बुहारीहरु पनि सहभागीता थियो ।
कार्यक्रममा सन्त महन्त , बिश्व हिन्दु महासंघ भारतका प्रतिनिधि नरसिंह पाण्डे, बिश्व हिन्दु परिषद् प्रतिनिधिहरु, हिन्दु जगरण नेपालका प्रतिनिधिहरु, ओम शान्ति परिवारका प्रतिनिधिहरु , बिश्व हिन्दु युवा अन्तर्राष्ट्रियका पदाधिकारीहरु, बिश्व हिन्दु महासंघ कलङ्कीका प्रतिनिधि, श्रीराम हनुमान आराधाना मण्डलका प्रतिनिधिहरु ,ओमकार परिवारका प्रतिनिधि, धार्मिक तथा अध्यात्मिक संघ संस्थाका प्रतिनिधिलगायतको कार्यक्रममा सहभागीता थियो ।
कार्यक्रमको सभापतित्व महासंघका कार्यवाहक अध्यक्ष प्रमाेद चौडरीयाले गरेका थिए ।
–तस्वीरहरू अस्मिता भण्डारीकाे फेसबुक वालबाट ।