विदेश

जापानमा भूकम्पबाट आठ जनाको मृत्यु

जापानमा भूकम्पबाट आठ जनाको मृत्यु

टोकियो ।  उत्तरी जापानको होकाइदो द्वीपमा बिहीबार ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट भवनहरू भत्किएर र भूस्खलनमा परेर आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको छ । 

 

गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो । 

 

यस क्षेत्रमा विद्युत् सेवाको रूपमा रहेको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क्षति पुगेका कारण ३० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । यस भूकम्पको केन्द्रविन्दु क्षेत्रीय राजधानी साप्पोरोबाट ६२ किलोमिटर टाढा रहेकाले सुनामीको चेतावनी भने दिइएको छैन । 

 

भूकम्पपछि दर्जनौँ घरहरू ध्वस्त भएका र भूकम्प प्रभावित इलाकामा रहेका आवासीय दर्जनौँ व्यक्तिहरूलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । 

 

प्रहरी अधिकारीलगायत करिब २० हजार उद्धारकर्ताहरू परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताए । सो उद्धारकार्यमा अरू करिब २० हजार सैनिकले पनि परिचालन गर्ने तयारी भइरहेको छ । 

 

मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि बोल्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसको ज्यान बचाउन हरसम्भव प्रयास गरिने बताए । 

 

सन् २०११ को मार्च ११ मा जापानमा आएको विनाशकारी ९.० रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी जनधनको ठूलो क्षति भएको थियो । 

जापानमा भूकम्प

विशेष