News

पति र जेठाजु मिलेर सामूहिक बलात्कार 

पति र जेठाजु मिलेर सामूहिक बलात्कार 

काठमाडौं । पति र जेठाजु मिलेर सामूहिक बलात्कार गरेको आरोपमा पति र जेठाजुलाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

 

पर्सा जिल्ला अदालतका न्यायाधीश सूर्य प्रसाद अधिकारीको इजलासले पोखरीया नगरपालिका १ वनकटवाका २७ वर्षीय राजकपुर ठाकुर र उनका दाजु ४० वर्षीय सुरेन्द्रलाई बुधबार जेल चलान गरेको हो  ।

 

राजकपुरकी २० वर्षीया पत्नीले पति र जेठाजु मिलेर आफूलाई पटकपटक जबर्जस्ती र सामूहिक बलात्कार गरेको जाहेरी साउन २२ गते जिल्ला प्रहरी कार्यालयमा दिएकी थिइन । त्यसपछि प्रहरी सक्रिय भएर दुबै आरोपितलाई पक्राउ गरेको हो  ।

 

उनी र राजकपुरबीच यसै वर्षको असार ७ गते परम्परागत मागी विवाह भएको हो । पतिको घरमा पुगेपछि जेठाजु सुरेन्द्र घरमा हावी भएको अनुभूति आफूले गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।

 

असार ११ गते राति करिब ११ बजेको समयमा आफू पति राजकपुरसँग घरको कोठामा रहेको बेला जेठाजु सुरेन्द्र पनि आफ्नो कोठामा प्रवेश गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन् । ‘जेठाजुलाई मुख देखाउन नहुने, जिउ छुन नहुने परम्परा रहेकाले म कोठा बाहिर निस्कन खोज्दा पति राजकपुरले मेरो हात समातेर हामी दाजुभाइ एक हौं,’ जाहेरीमा लेखिएको छ, ‘हामीसँग संकोच मान्नु पर्दैन भन्दै मलाई सुत्ने पलंगमा बसाए र दाजु सुरेन्द्रलाई पनि पलंगमा आउन संकेत गरे ।’

 

जाहेरीमा लेखिएको छ, ‘यसरी दुवै दाजु भाइ मेरो पलंगमा बसी मलाई सुमसुम्याउन थालेपछि मैले विरोध गरें, मैले विरोध गर्ने बित्तिक्कै मलाई जेठाजु सुरेन्द्रले बलपूर्वक दुवै हात समाई पलंगमा पछारी ममाथि चढे ।’ आफ्नो संरक्षण गर्नुपर्ने दायित्व भएका पति राजकपुरले झन् आफ्नो लुगा खोली मुख थुनी दाजु सुरेन्द्रलाई जबर्जस्ती करणी गर्न सघाएको उनले जाहेरीमा दाबी गरेकी छिन्।

 

जेठाजु सुरेन्द्रले आफ्नो अस्मिता लुटेपछि पतिले पनि जबर्जस्ती गरेको उनले उल्लेख गरेकी छन् । आफूले यसको विरोध गर्दा धारिलो चक्कु देखाई कसैलाई भने वा केही बोले ज्यान मार्ने धम्की दिएको उनले जाहेरीमा उल्लेख गरेकी छिन । यसरी आफू पटकपटक बलात्कृत हुँदै आएको उनले दाबी गरेकी छिन् ।

 

पति र जेठाजु दुबै काठमाडौंमा रोजगारी गर्ने र आफूलाई पनि काठमाडौं जान पटकपटक दबाब दिएकोमा आफूले माइतीमा आएर आमालाई बताएपछि प्रहरीलाई उजुरी गर्न आएको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।

 

आरोपित राजकपुर र सुरेन्द्रले आफूहरू उपरको आरोप निराधार रहेको बयान अदालतमा दिएका छन् । न्यायाधीश अधिकारीले आरोपित ठाकुरद्वयलाई मुलुकी ऐन २०७४ को दफा ६७९१० को आधारमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न ऐनको ८० नम्बर बमोजिमको थुनुवा पुर्जी दिई कारागार पठाउन आदेश दिएका छन ।
 

सामूहिक बलात्कार पति र जेठाजु

विशेष