विदेश

आफूविरुद्ध छापिएको बेनामी लेखप्रति ट्रम्प आक्रोशित

आफूविरुद्ध छापिएको बेनामी लेखप्रति ट्रम्प आक्रोशित

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द न्युयोर्क टाइम्समा आफूविरुद्ध छापिएको बेनामी लेखप्रति आक्रोशित बनेका छन् । लेखमा ट्रम्पको काम गर्ने शैलीले अमेरिकी गणतन्त्रका निम्ति हानिकारक भएको आरोप लगाइएको छ । वरिष्ठ अधिकारीद्वारा लेखिएको दाबी गरिएको उक्त लेख देशद्रोही र कायरतापूर्ण भएको भन्दै ट्रम्पले आलोचना गरेका छन् ।

 

‘आई एम पार्ट अफ द रेसिस्टेन्स इनसाइड द ट्रम्प एडमिनिस्ट्रेशन’ लेखमा आफू र आफूजस्ता अधिकारीले ट्रम्पका प्रमुख मुद्दा र गलत प्रक्रिया रोक्न आग्रह गरेको बताइएको छ । यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले बेवास्ता गरेको पनि लेखमा उल्लेख छ । नाम र परिचय नखुलाइएको उक्त लेखमा हालसम्मका कुनै पनि राष्ट्रपतिले नभोगेको कठिन अवस्था ट्रम्पले भोगिरहेको बताइएको छ । 

 

न्युयोर्क टाइम्सले ट्विट गर्दै उक्त बेनामी लेखका लेखक पुरुष भएको बताएको छ । पत्रिकामा बेनामे यस्ता लेख निकै बिरलै मात्र प्रकाशित हुन्छन् । उक्त पत्रिकाले लेखकको अनुरोधमा ट्रम्प प्रशासनका ती वरिष्ठ अधिकारीको नाम खुलासा नगरेको स्पष्ट पारेको छ ।

 

लेखमा उल्लेख छ, ‘हामी ट्रम्प प्रशासन सफल होस् भन्ने चाहन्छौं, उनका कैयौं नीतिले अमेरिकालाई सुरक्षित र समृद्ध बनाएका छन् ।’ कर्मचारीको प्राथमिक कर्तव्य देशप्रति हुने बताउँदै राष्ट्रपतिका काम कारबाही अमेरिकी गणतन्त्रको अहितमा भएको लेखमा चर्चा गरिएको छ ।

 

राष्ट्रपति ट्रम्पले ट्विट गर्दै लेखेका छन्, ‘बेनामे लेखको मतलब कायर सम्पादकीय ।’ उनले लेखकको परिचय खुलाउन न्युयोर्क टाइम्सलाई भनेका छन् ।

ट्रम्पले ट्विटमार्फत लेखेका छन्, ‘देशद्रोह । तथाकथित वरिष्ठ अधिकारी सत्य हुन् वा कुनै फर्जी सूत्रका साथ न्युयोर्क टाइम्सले यस्तो लेख छापेको हो । यदि कोही कायर बेनामे अधिकारीले लेखेको हो भने राष्ट्रिय सुरक्षाका हिसाबले उनलाई सरकार समक्ष बुझाउनुपर्छ ।’ अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यस्तो बेनामे लेख लेख्ने वरिष्ठ अधिकारीले राजीनामा दिनुपर्ने माग गरेको छ ।

 

यसको अघिल्लो दिन पत्रकार वासिङटन पोस्टका पत्रकार बब वुडवर्डको किताब काल्पनिक र मनगढन्ते भएको बताइसकेका छन् । बब वुडवर्डको ‘फीयर : ट्रम्प इन द ह्वाइट हाउस’मा ट्रम्पका काम कारबाहीबारे लेखिएको छ । उक्त पुस्तक आगामी मंगलवार सार्वजनिक हुँदै छ । किताबमा ट्रम्पको काम गर्ने तरिका र निर्णय लिने तरिकाको विस्तृत वर्णन गरिएको दाबी गरेका छन् । 


वासिङटन पोस्टले मंगलवार उक्त पुस्तकको केही अंशसहित समाचार छापेको थियो । ह्वाइट हाउसकी प्रेस सचिव सारा सान्डर्सले भनिन्, ‘यो किताबमा केही छैन, खालि मनगढन्ते कहानी सजिएका छन् । यसमा असन्तुष्ट पूर्वकर्मचारीको भनाइ मात्रै राखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिष्ठा गिराउन यसो गरिएको हो ।’

 

किताब लेखनका क्रममा वुडवर्डले राष्ट्रपति ट्रम्पसँग भने ती विषयमा कुरा नगरेको बताएका छन् । उनले ट्रम्पले सिरियाली राष्ट्रपति बसर अल–असदको हत्या गर्न आदेश दिएको उल्लेख छन् । प्रतिरक्षामन्त्री जेम्स म्याटिसले असदको हत्या गर्न नमानेको भन्दै वुडवर्डले चर्चा गरेका छन् ।

 द न्युयोर्क टाइम्समा छापिएको लेख 

डोनाल्ड ट्रम्प

विशेष