विदेश

समलिंगी यौन सम्बन्धलाई वैधता 

समलिंगी यौन सम्बन्धलाई वैधता 

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले समलिंगी यौनलाई मान्यता दिने फैसला गरेको छ । 

 

अदालतले दुई समलिंगीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिंगी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको हो । 

 

झण्डै १ सय ५७ वर्ष पुरानो कानून र सन् २०१३ को एउटा फैसलालाई उल्ट्याउँदै अदालतले ऐतिहासिक फैसला गरेको समाचारमा जनाइएको छ । पुरानो कानूनमा यौन सम्बन्धलाई वर्गीकरण गर्दै समलिंगी यौन सम्बन्धलाई अवैध भनिएको थियो । 

 

‘अप्राकृतिक कसूर’ को व्यवस्था भएको ‘सेक्शन ३ सय ७७’ भनेर चिनिने पुरानो कानुनी प्रावधानलाई न्यायाधीशहरूले सर्वसम्मतिले अन्त्य गर्ने फैसला गरेका हुन् । 

 

सन् २०१३ मा सर्वोच्च अदालतले पुरानो कानूनलाई नै सदर गर्ने गरी गरेको फैसलाको ती न्यायाधीशहरूले पुनरवलोकन गरिरहेका थिए । 

 

भारतका प्रधानन्यायाधीश दीपक मिश्रको अध्यक्षतामा बसेको पाँच सदस्यीय संवैधानिक इजलाशले गरेको निर्णयको धेरैतिरबाट स्वागत भएको छ । इजलासले पुरानो कानून सच्याउनसमेत सुझाव दिएको छ । 

 

गोपनीयता र सामाजिक तथा नैतिक पक्षलाई पनि ध्यान दिनुपर्ने फैसलामा उल्लेख गरिएको समाचारमा जनाइएको छ । 

भारतका समलिंगी तथा लैंगिक अल्पसंख्यक समुदायहरूले लामो समयदेखि पुरानो कानूनविरुद्ध संघर्ष गरेका थिए ।
 

नयाँ दिल्ली समलिंगी यौनलाई मान्यता

विशेष