News

नयाँ ऐनले स्वच्छ पत्रकारितालाई रोक्दैन- कानूनविद्

नयाँ ऐनले स्वच्छ पत्रकारितालाई रोक्दैन- कानूनविद्

भक्तपुर ।  नयाँ फौजदारी एवं देवानीसंहिताले स्वच्छ पत्रकारिता गर्नलाई नरोक्ने कानूनविद्ले बताएका छन् । नेपाल पत्रकार महासङ्घ भक्तपुरको समन्वयमा राष्ट्र निर्माण मञ्चले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा कानूनविद्हरुले संहितादेखि पत्रकार आत्तिनु नपर्ने बताएका हुन् । 

 

कार्यक्रममा भक्तपुर जिल्ला अदालतका न्यायाधीश डा श्रीप्रकाश उप्रेतीले पत्रकार लगायतका अन्य पेशाको व्यावसायिक स्वतन्त्रतालाई स्थापित गर्नुपर्ने बताए । 

 

‘पत्रकारितालगायत चिकित्सक तथा वकिलको व्यावसायिक स्वतन्त्रतालाई कुण्ठित गर्न हुँदैन, अहिलेकोसंहिता त्यसरी आएको छैन, पहिला सबै अध्ययन गरेर मात्रै विरोध गर्ने गरौँ, व्यावसायिक स्वतन्त्रताका नाममा अरुलाई अनावश्यक हानी पु¥याउन भने पाइन्न ।’ 

 

आफ्नो व्यावसायिक स्वतन्त्रताप्रति पत्रकार र सञ्चारक्षेत्र सचेत र सजक रहनुपर्ने बताउँदै उहाँले पत्रकारिताको नाममा जथाभावी गर्ने छुट विगतका कानूनले पनि नदिएको बताउनुभयो । न्यायाधीश डा उप्रेतीले स्वच्छ पत्रिकारिता गर्नेले अहिलेको संहिताबाट डराउनुपर्दैन भन्दै चिकित्सकले नै डराउनु पर्नेगरी संहिता नआएको दाबी गरे । 

 

कार्यक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पत्रकारले निर्वाध रुपमा आफ्नो व्यावसायिक अधिकार प्रयोग गर्न पाउने गरी नै संहिताआएको दाबी गरे। उनले भने, ‘यो अहिलेको सरकारले मात्रै ल्याएको संहिता होइन, विज्ञबीच पाँच वर्ष लामो छलफल भएर गत वर्षको असोज ३० गते सबै दलको सहमति र हस्ताक्षरबाट पारित गरेर गत भदौ १ गतेबाट कार्यान्वयनमा आएको हो, पत्रकारले आत्तिनु पर्दैन ।’

 

विशेष ऐनमा भएका सञ्चार क्षेत्रका हकमा नयाँ कानूनले कुनै फरक नपार्ने बताउँदै उहाँले नेपालमा जस्तो पत्रकारलाई छुट र स्वतन्त्रता कुनै पनि राष्ट्रमा नभएको बताए । ‘धेरै छुट र स्वतन्त्रता पाएका नेपाली प्रेसलाई अहिले आएको संहिताले त्रास फैलाएको छ, यति स्वतन्त्रता कुनै पनि देशको प्रसले पाएको छैन, यो संहितादेखि प्रेसले डराउनु पर्दैन, निर्धक्क भएर समाचार लेख्न र तस्बिर लिन प्रेसलाई छुट छ ।’ उनले भने ।

 

उनले गलत नियत राखेर समाचार लेख्ने तथा तस्बिर लिएर दुरुपयोग गर्ने जो कोही कारवाहीको भागिदार हुनुपर्छ भन्दै सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिको समाचार लेख्न र तस्बिर लिन नयाँ संहिताले नरोक्ने दाबी गरे । 

 

कार्यक्रममा पत्रकार बालकृष्ण बस्नेतले केही नेता र केही कर्मचारीले आफ्ना कमजोरी प्रेसमार्फत खुल्ने डरले संविधानले आमसञ्चार माध्यमलाई दिएको पूर्ण प्रेस स्वतन्त्रता नै हनन हुनेगरी गोपनीयता सम्बन्धी विधेयक अघि बढाएको बताए । 

 

नेपाल बार एशोसियसन भक्तपुरका सचिव किरण न्यौपानेले प्रेस पनि मर्यादित र जिम्मेवार बन्नुपर्ने बताउँदै संविधानत प्रेसले प्राप्त गरेको हक कुनै पनि कानूनले खोस्न नसक्ने उख्लेख गरे । 

 

नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखा अध्यक्ष पुष्करराज बुढाथोकीले नयाँ संहितामा राखिएका केही बुँदाबाट प्रेस स्वतन्त्रता हनन हुनेभएको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित पार्ने बुँदा संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन माग गरे । -रासस

कानूनविद् स्वच्छ पत्रकारिता नयाँ फौजदारी एवं देवानीसंहिता

विशेष