News

जनउत्तरदायी जनप्रतिनिधि

जनउत्तरदायी जनप्रतिनिधि

राजनीति कमाउनका लागि होइन, जनसेवाका लागि हो । तर, व्यवहारतः यो सूत्रमा कमै राजनीतिकर्मी चलेका देखिन्छन् । सत्तामा पुगेपछि राज्यले दिएको आर्थिक लाभले मात्रै नपुगेर शक्तिको थप दुरुपयोग गर्नेहरू पनि समाजमा धेरै छन् । तर, केही यस्ता पनि जनप्रतिनिधि छन् जसले राज्यबाट पाएको सेवासुविधा विपन्न जनताको सेवामा खर्चिएका छन् ।


तलब सहिद परिवारलाई
महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले तलबको कम्तीमा २५ प्रतिशत रकम जिल्लाका सहिद परिवारलाई दिने घोषणा गरेका छन् । सहिदका बालबालिका पढाउन तथा अन्य आवश्यकतामा उक्त रकम खर्चिने बताएका छन् ।

 

आवश्यकताअनुसार २५ प्रतिशतभन्दा बढी तलब पनि दिन तयार रहेको बताए । मेयर साहले सहिद परिवारकै रोजगार तथा परिवारको पूर्ण व्यवस्थापनका लागि आवश्यक थप रकम सहयोग माग्ने पनि बताएका छन् । महोत्तरीमा मधेस आन्दोलनमा ६ जनाले साहदत प्राप्त गरेका छन् ।


राज्य कोषबाट तलब नलिने घोषणा
बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले तलब–भत्ता नै नलिने घोषणा गरेका छन् । अहिलेसम्म लिएका पनि छैनन् । राज्य कोषको तलब नबुझ्ने वचन उनले निर्वाचनअघि नै मतदातालाई दिएका थिए । अहिलेसम्म तलब–भत्ता नलिएको उनले बताए । मेयर नेपालीले व्यक्तिगत पहलमा जिल्लाको पश्चिम क्षेत्रका विभिन्न विद्यालयमा निजी स्रोतबाट शिक्षक राखेका छन् । प्रावि तहको शिक्षकका लागि आर्थिक सहयोग गरेका छन् । उनले विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गरी ४० जना शिक्षकलाई निजी स्रोतबाट तलब खुवाउँदै आएका छन् ।

 

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले प्राप्त तलब–भत्ता र अन्य सुविधा प्रयोग गरेका छैनन् । निर्वाचित भएपछि पालिकामा बसेको पहिलो बैठकबाटै उनले यस्तो घोषणा गरेका हुन् । पाँच वर्षसम्म नै नलिने उनको संकल्प छ । प्रमुखले पाउने तलब–भत्ता पाँचै वडालाई बराबरी बाँड्ने गरिएको छ । अन्य कुनै पनि सेवा–सुविधा उनले लिएका छैनन् । आफ्नै गाडी प्रयोग गरेर वडाभर घुम्ने गरेका छन् ।

 

म्याग्दीको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले पनि तलब लिएका छैनन् । उनले बैठक भत्ताका रूपमा आउने पैसा भने लिएका छन् । ‘म सरकारको दोहोरो पैसा खान्न,’ श्रेष्ठले भने, ‘नगर प्रमुखका रूपमा आएको ३५ हजार रकम राज्यकोषमै फिर्ता भएको छ । अन्य सामान्य बैठक भत्ता भने लिएको छु ।’


सबै तलब–भत्ता विद्यार्थीका लागि खर्च
बाग्लुङको जैमिनी नगरपालिका–७ का वडासदस्य केन्द्र रसाइलीले तलब–भत्ता विद्यार्थीका लागि खर्चिएका छन् । आफ्नै वडामा रहेको बाल साक्षरता प्राविका विद्यार्थीलाई एक वर्षका लागि पुग्ने शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

 

एक वर्षसम्म उनको नाममा आएको भत्तामा केही रकम थप गरी १८ बालबालिकालाई वर्ष दिनसम्म पुग्ने शैक्षिक सामग्री वितरण गरेका हुन् । ‘मेरो पाँच वर्षको कार्यकालमा आउने तलब–भत्ता यस्तै क्षेत्रमा लगानी गर्नेछु,’ रसाइलीले भने ।

 

म्याग्दीको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले पनि पाँचवर्षे कार्यकालमा कुनै पनि तलब–भत्ता नलिने निर्णय लिएका छन् । भण्डारीले आफ्नो नाममा आएको तलब–भत्ताबाट कोष निर्माण गर्न लगाएका छन् । कार्यपालिकाबाट निर्णय गराएर कोष स्थापना गर्न गाउँपालिका जुटेको छ । कोषमा जम्मा भएको रकम गाउँपालिकाका आठ वडामा रहेका गरिब, विपन्न र दलित विद्यार्थीको सहयोगमा खर्च गर्ने निर्णय भएको छ ।

 

जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले आफूले पाउने तलब–भत्ता विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकाको शिक्षामा खर्च गरेका छन् । आफू संयोजक भएको एक वर्ष अवधिमा पाएको ४ लाख ४१ हजार रकम जिल्लाका १ सय १ जना बालबालिकालाई शैक्षिक सामग्री र खाजा खर्चमा खर्च गरिरहेका छन् ।

 

गरिबीका कारण विद्यालय जान नसकेका बालबालिकालाई कापी, किताब, कलम, विद्यालय पोसाक, जुत्ता र झोला तथा दैनिक ३० रुपैयाँका दरले वर्षभरिका लागि खाजा खर्चबापतको रकम सहयोग गरिरहेका छन् ।

 

जिल्ला र नगर शिक्षा समितिको सिफारिसका आधारमा जिल्लाका विभिन्न ठाउँका बालबालिकालाई सहयोग गरिरहेको उनले बताए । ‘म शिक्षा समितिको संयोजक पनि भएकाले पाँच वर्षभित्र जिल्लाका सबै बालबालिकालाई विद्यालयको पहुँचसम्म ल्याउने लक्ष्य लिएको छु,’ उनले भने, ‘पाँच वर्षको तलब बालबालिकाको शिक्षामै खर्च गर्छु र बालशिक्षामा लगानीका लागि अन्य संघसंस्थासँग पनि पहल गर्नेछु ।’


दुई बालबालिकालाई क्याम्पससम्मै पढाइदिने
काभ्रेको नमोबुद्ध नगरपालिकाका मेयर टंकप्रसाद शर्मा तिमल्सिनाले आफ्नो तलब–भत्ता दुई बालबालिकालाई क्याम्पसम्मको पढाइका लागि खर्चिने घोषणा गरेका छन् । यसका लागि १ लाख २३ रुपैयाँ छात्रवृत्तिका लागि छुट्याएको बताए । उनले भने, ‘कुखुरापालन व्यवसायबाट आम्दानी भएको २० प्रतिशत रकम पनि सामाजिक कार्यका लागि खर्च गर्ने गरेको छु ।’


तलब–भत्ता समाजमा खर्च गर्ने योजना बनाउँदै
म्याग्दीको धौलागिरि गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले पनि तलब–भत्ता लिएका छैनन् । उनको नाममा आएको तलब–भत्ता जम्मा भएर बसेको छ ।

उक्त रकम शैक्षिक उन्नतिमा खर्च गर्ने योजना सुनाए । गत वर्षमा जम्मा भएको ४ लाख ३१ हजार रुपैयाँ कुन–कुन क्षेत्रमा सहयोग गर्ने भन्ने टुंगिएपछि पत्रकार सम्मेलन गरेर बाहिर ल्याउने बताए । पाँचवर्षे कार्यकालको तलब–भत्ता फरक–फरक क्षेत्रमा सहयोग गर्ने योजना सुनाए ।


आफूलाई गाडी किन्न छुट्याएको पैसाले जनतालाई पानी ट्यांकर
सर्लाहीको वागमती नगरपालिकाका मेयर भरतकुमार थापाले गाडी खरिद शीर्षकको पैसाले पार्टी ट्यांकर किनेका छन् । नगरको दुर्गम दुईवटा वडा १ र ११ का जनाताको पिउने पानीको अभाव टार्न ३० लाखमा पानी ट्यांकर किनेका हुन् ।

नगरपालिकाको दैनिक कामका लागि मोटरसाइकल चढ्ने गरेका छन् । उनले तलब र बैठक भत्तालगायत सुविधा गरिब तथा दलित परिवारको शिक्षा र स्वास्थ्यमा खर्चिने घोषणा गरेका छन् ।

जनप्रतिनिधिको बैठक भत्ता पनि कटौती गरेका छन् । ‘अहिलेसम्म नगरपालिकाबाट एकसुको पनि लिएको छैन, बरु नगरपालिकाकै काममा बाहिर जाँदा आफ्नै गोजीको खर्च गर्ने गरेको छु,’ मेयर थापाले भने ।


निजी गाडी चढ्ने, तलब र भत्ता नलिने मेयर
पर्साको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावदीले राज्य कोषको रकम खर्चेर खाडी खरिद गरेका छैनन् । उनी निजी गाडीमा महानगरको काममा हिँड्छन् ।

 

अहिलेसम्म तलब र भत्ता पनि नलिएको बताए । जम्मा भएको तलब–भत्ता कल्याणकारी कोषमा जम्मा गरेर जनताका लागि खर्च गर्ने योजना सुनाए । ‘अहिले तलब र बैठक भत्ता लिएको छैन, अब केही दिनमा महानगरपालिकाले तलब र बैठक भत्ताबापतको रकम एकमुष्ठ निकासा दिन्छ । तर, त्यो पैसा म खर्च गर्दिनँ, सबै रकम मेयर कल्याणकारी कोषमा जम्मा गर्छौँ,’ सरावदीले भने ।


वर्षभरको तलब र बैठक भत्ता सडक मर्मतमा खर्च
धनुषाको जनकपुर उपमहानगरपालिका–४ का वडाध्यक्ष सुदर्शन सिंहले एक वर्षको तलब–भत्ता सडक मर्मतमा खर्च गरेका छन् । सवा तीन लाख रुपैयाँ वडाको सडक मर्मतमा खर्च गरेका हुन् ।

 

निर्वाचनअघि जनतासँग गरेको वाचा कार्यान्वयन गरेको उनले बताए । सिंहले बाँकी चार वर्षको तलब–भत्ताले वृद्धाश्रम खोल्ने योजना बनाएका छन् ।


आफ्नो तलबले जनतालाई घडेरी, दलित बस्तीमा बिजुली
सर्लाहीको हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेख महबुब रेजाले तलब–भत्ता त जनताका लागि खर्च गरेका छन् नै, आफ्नै गोजीको पैसा पनि समाजसेवामा खर्चेका छन् ।

उनले वडाका भगलु मण्डलको मिर्गौलाको उपचार गर्न २५ हजार रुपैयाँ मात्रै दिएनन्, मदरसा गोसुल हजरालाई घडेरी किनिदिए । तलब र भत्ताको १ लाख ७० हजार खर्च गरेर १० धुर जग्गा किनिदिएका हुन् । उनले एक लाख बढी खर्च गरेर दलित बस्तीका लागि बिजुलीको तार किनिदिएका छन् । अहिले बस्ती झिलिमिली भइसकेको छ ।


वर्षभरको तलब र भत्ता एकल महिलालाई
रौतहटको चन्द्रपुर नगरपालिका–४ का सदस्य कृष्णबहादुर खड्काले वर्षभरको तलब र भत्ता दुर्घटनामा ज्यान गुमाएका दीपक पौडेलकी श्रीमतीलाई सहयोग गरेका छन् । ३९ हजार ५ सय २५ रुपैयाँ रकम सहयोग गरेका हुन् ।


आमाको सम्झनामा आफू बाँचुन्जेल एक विद्यार्थीलाई छात्रवृत्ति
प्रदेश ७ का सभामुख अर्जुनबहादुर थापाले आमा राइकोसादेवीको सम्झनामा विपन्न परिवारका एक विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति दिने घोषणा गरेका छन् ।

 

आमाको माइतीघर रहेको बझाङको खप्पडछान्ना गाउँपालिका–५ बयानास्थित कोटीखेत माविमा हरेक वर्ष एकजना विद्यार्थीलाई वार्षिक १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा सभामुख थापाले गरेका हुन् ।

 

भर्ना हुने वेला ५ हजार रुपैयाँ दिइसकेको र वार्षिक परीक्षाका वेला थप ५ हजार दिने सभामुख थापाले बताए । ‘आमाको पनि सम्झना रहन्छ । १० हजारले विद्यार्थीलाई पनि कापीकिताब किन्न सहयोग होला भनेर म बाँचुन्जेल सहयोग गर्ने घोषणा गरेको हुँ,’ सभामुख थापाले भने ।


वर्षभरको तलब सामुदायिक विद्यालयको विकासमा
मोरङको विराटनगर महानगरका मेयर भीम पराजुलीले एक वर्षको सेवा–सुविधा विराटनगर–१ स्थित सयपत्री आधारभूत विद्यालयलाई दिने घोषणा गरेका छन् ।

 

सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न वर्षभरको तलब–भत्ता नियमित रूपमा सामुदायिक विद्यालयलाई प्रदान गर्ने योजना रहेको सुनाए । मेयर पराजुलीले शौचालय र खानेपानीलगायत अति आवश्यक कुरा के–के चाहिन्छ प्रस्ताव गर्न विद्यालयलाई भनेका छन् । विद्यालयकै प्रस्तावअनुसार रकम खर्चिने उनले बताए ।

 

काभ्रेको धुलिखेल नगरपालिका–११ का वडाध्यक्ष विष्णु काभ्रेलीले हनुमान मावि र अर्को एक प्राविलाई एक–एक लाख रुपैयाँ रकम हस्तान्तरण गरेका छन् । सहयोग गर्दै जाने पनि बताएका छन् ।


काभ्रेकै बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले पार्वती मावि ढुङखर्कलाई आफूले पाउने तलब–भत्ताको १० प्रतिशत दिने घोषणा गरेका छन् ।


आफ्नो नामको सुविधा परोपकारी काममा खर्चिने
मोरङको रंगेली नगरपालिका प्रमुख दिलीप अग्रवालले आफ्नो सम्पूर्ण सरकारी सुविधा परोपकारी काममा खर्च गर्ने घोषणा गरेका छन् । भैपरी आउने आवश्यकताअनुसारको परोपकारी काममा तलब–भत्ता खर्चने प्रमुख अग्रवाल बताउँछन् । हाल नगरपालिकाबाट निकासा हुँदै आएको उनको सुविधा उनकै खातामा जम्मा भए पनि खर्च नगरेको बताए ।


आमाबाबु नभएकालाई आफ्नो बैठक भत्ता
नवलपरासीको कावासोती नगरपालिका–३ का वडाध्यक्ष अमृत श्रेष्ठले बैठक भत्ताको रकम अभिभावक नभएका बालकका लागि खर्च गरेका छन् । आमाबाबु नभएका कक्षा ६ मा पढ्ने प्रकाश महतो र कक्षा ७ मा पढ्ने समिर श्रेष्ठको अभिभावकत्व ग्रहण गरेका हुन् ।

 

रोजगारीका लागि भारत गएका समिरका बाबु उतै बेपत्ता छन् । दुवै बालकको अध्ययन खर्च, पोसाक, पाठ्यपुस्तक र कापीकलममा आफू वडाध्यक्ष रहुन्जेल सहयोग गर्ने उनले बताए ।


नगरका दुई गाडी छन्, तर निजी गाडी चढ्छन् मेयर
कैयौँ स्थानीय तहमा जनप्रतिनिधि गाडी सुविधा लिन लुछाचुँडी गरेका खबर आइरहेका छन् । तर, मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले निजी गाडी चढेरै जनताको काम गर्ने गरेका छन् । संघीय र प्रदेशका मन्त्रालय जाँदा पनि निजी गाडी नै प्रयोग गर्छन् ।

 

‘मेयर साब कार्यालय आउँदा र बाहिर जाँदा पनि आफ्नै गाडी प्रयोग गर्नुहुन्छ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले भने, ‘नगरपालिकाको गाडी बिग्रिँदा मेयर साबकै गाडीले हामीलाई पनि कहिलेकाहीँ काम दिएको छ ।’ जनताको मतको दुरुपयोग नगर्ने मेयर सुवेदी बताउँछन् ।


बैठक र भ्रमण भत्ता कटौती
दार्चुलाको नौगाढ गाउँपालिकाका जनप्रतिनिधिले अबदेखि दैनिक भ्रमण भत्ता नलिने भएका छन् । भत्ताका नाममा खर्च हुने रकममा सुरुदेखि नै मितव्ययिता अपनाउँदै आएको नौगाढ गाउँपालिकाले असार अन्तिम सातादेखि भ्रमण र बैठक भत्ता कटौती गरेको हो ।

 

‘हामी जनप्रतिनिधिले भ्रमण भत्ता लिँदैनौं,’ अध्यक्ष प्रेमसिंह धामीले भने । बैठक भत्ता भने महिनाको एक बैठकको मात्रै लिने निर्णय गरेको छ । पहिला महिनाको पाँच बैठकसम्मको भत्ता लिने व्यवस्था थियो । ‘महिनामा १० भन्दा बढी बैठक बस्नुपर्ने अवस्था आए बढीमा दुई बैठकको भत्ता लिने र अन्यथा एक बैठकको मात्रै भत्ता लिने निर्णय गरेका हौँ,’ अध्यक्ष धामीले भने ।


तलब–भत्ता नलिने सांसदको घोषणा
प्रदेश ३ का सांसद चन्द्रबहादुर लामाले कुनै पनि तलब र भत्ता नलिने घोषणा गरेका छन् । प्रदेश सभा सांसदहरूलाई तलब तथा भत्ताका लागि बैंकमा खाता खोल्न भनिए पनि उनले सो रकम नलिने घोषणा गरेका हुन् । प्रदेश सभाको अपमान गर्दै सरकारले मर्यादा तोकेको भन्दै मर्यादालाई नसच्याउँदासम्म आफूले कुनै पनि सेवा–सुविधा नलिने घोषणा गरेको बताए । जनप्रतिनिधिलाई सरकारीको सचिव तहको कर्मचारीको हैसियतमा राखेको भन्दै उनले जनप्रतिनिधिको अपमान भएको बताए ।


एक महिनाको तलबले वृद्धवृद्धालाई कपडा खरिद
काभ्रेको रोसी गाउँपालिका अध्यक्ष डिबी लामाले एक महिनाको तलबले वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई लत्ताकपडा किनेर बाँडेका छन् । अर्को एक महिनाको तलब बालबालिकाको छात्रवृत्तिमा खर्चिने घोषणा गरेका छन् ।


वर्षभरको तलब कोषलाई दिने घोषणा
काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० का अध्यक्ष विष्णुमणि नेपालले एक महिनाको तलब पहिरोपीडितलाई दिएका छन् । वडामा स्थापना गरेको कोषमा वर्षभरको तलब सुविधा दिने घोषणा पनि गरेका छन् ।


तलब–भत्ता सुत्केरी र गरिब बालबालिकालाई
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले आफूलाई प्राप्त हुने तलब र भत्ता सुत्केरी महिला र गरिब बालबालिकालाई वितरण गर्दै आएका छन् । तातोपानी हेल्थपोस्ट बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने सुत्केरीलाई पाँच हजार दिने गरिएको छ । उनले आफ्नो वडावासीलाई मात्रै नभई गाउँपालिकाभित्रका पाँचै वडाबाट सुत्केरी गराउन आउने महिलालाई सहयोग रकम दिने गरेका छन् ।

 

एक वर्षमा बर्थिङ सेन्टर आउने ४० महिलालाई जनही पाँच हजार दिएको अध्यक्ष श्रेष्ठले बताए । जेहेनदार तथा गरिब बालबालिकालाई पनि पाँच हजारको दरले सहयोग गरेको सुनाए । ‘पाँच वर्षसम्म प्राप्त हुने सबै रकम सुत्केरी महिला र गरिब बालबालिकाको पढाइमा सहयोग गर्ने मेरो चाहना हो,’ श्रेष्ठले भने । उनले गाडीलगायत सुविधा पनि वडाबाट लिएका छैनन् । निजी गाडी प्रयोग गरिरहेका छन् ।


तलब सुविधा जनताको स्वास्थ्यमा खर्चिने बचन
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का वडाध्यक्ष मुक्तिनाथ यादव (भोला यादव) ले आफूले वडाबाट पाउने पारिश्रमिक समाजसेवामा खर्च गर्ने बताएका छन् । वडाका नागरिकलाई स्वास्थ्य सेवा तथा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उनको भनाइ छ । ‘अरू केही नभए पनि एम्बुलेन्सबापतको रकम पारिश्रमिकबाट दिने घोषणा गरेको हुँ,’ यादवले भने । - नयाँ पत्रिका दैनिकबाट ।

राजनीति जनसेवा

विशेष