News

बेगनास तालमा डुंगा पल्टिँदा २ को मृत्यु, ५ बेपत्ता

बेगनास तालमा डुंगा पल्टिँदा २ को मृत्यु, ५ बेपत्ता

पोखराको बेगनास तालमा डुंगा दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । नवलपरासीकी पाँच वर्षीया कृष्णकुमारी बजगाईं र तनहुँकी ३३ वर्षीया जमुना कँडेलको मृत्यु भएको हो । कृष्णकुमारीको लेखनाथ सामुदायिक अस्पतालमा र जमुनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा मृत्यु भएको हो ।

अन्य दुईजनाको उद्धार गरिएको छ भने पाँचजना अझै बेपत्ता छन् । पाँच वर्षीया प्राचीन पौडेल, सात वर्षीय शंकर खनाल, आठ वर्षीय शिव खनाल र ३२ वर्षीय रवि खनाल बेपत्ता छन् । बेपत्ता अर्का एक वृद्धको परिचय खुल्न नसकेको प्रहरीले जानकारी दियो । रवि नेपाली सेनामा कार्यरत छन् । २८ वर्षीया सपना खनाल र निशा पौडेलको उद्धार भयो । स्थानीयले उद्धार गरेका हुन् ।


तिज मान्न गएकाहरू दुर्घटनामा
बेगनासपारि कमलराज कँडेलको घरमा तिज मान्न पोखरा, चितवनलगायत ठाउँबाट आएका आफन्तहरू चढेको डुंगा पल्टिएको हो । कँडेलको घरभन्दा करिब सय मिटरवरै लिप्दी भन्ने स्थानमा दुर्घटना भएको हो । आफन्त चढेको डुंगा दुर्घटना हुँदा कमलराज अर्को डुंगामा थिए । घटनापछि बेहोस भएका कमलराजलाई पनि स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । सुरक्षाकर्मी, स्थानीयसँगै गोताखोर परिचालन गरी बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिसुवाका प्रहरी निरीक्षक किरण रावतले जानकारी दिए ।


तालमा खसेकी बालिका समाउन खोज्दा पल्टियो
डुंगामा ९ जना सवार थिए । पाँच वर्षीया प्राचीन पौडेल एक्कासि तालमा खसिन् । अरूले समात्न खोजे । डुंगा एकातिर कोल्टियो । सवार सबै ९ जना तालमा खसे । कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् । डुंगा कमलराजकै थियो ।


पौडिएर बाँचेँ : सपना खनाल
डुंगा कोल्टिएपछि पानी पस्यो । एकै छिनमा पानी भरियो र डुंगा डुब्यो । हामी सबै तालमा खस्यौँ । म पौडिएर बाँच्न सफल भएँ । तालमा केहीबेर दुई बच्चालाई समातेर बसे पनि उद्धारका लागि कोही आएन । उनीहरूलाई बचाउन सकिनँ । - नयाँ पत्रिकाबाट

बेगनास ताल लेखनाथ सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

विशेष