कर्णाली प्रदेश: राजमार्गको यात्रा, सास्तीमै बित्छ दिन

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु सदरमुकाम गमगढीसम्मको दुरी दुई सय ९४ किलोमिटर छ। सामान्यत अवस्थामा यो दुरी पार गर्न सडकमार्गबाट एक दिन पर्याप्त हुन्छ। वर्षात्का कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सुर्खेतबाट गमगढी पुग्न अचेल कम्तीमा पाँच दिन लाग्ने गरेको छ।
दुई साताअघि मुगुको ताल्चा विमानस्थलमा गएको पहिरो निरीक्षण गर्न प्रदेश राजधानीबाट हिँडेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोली पाँच दिन लगाएर गमगढी पुग्यो। ‘नाग्म (कालीकोट–जुम्ला सिमाना) सम्म चारवटा गाडी परिवर्तन गर्दै तीन दिनमा पुग्यौं, त्यहाँबाट दुई दिन पैदल हिँड्नुप¥यो’, मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले भने, ‘फर्कंदा झन् बढी समय लाग्यो।’
वर्षात्का कारण ठाउँठाउँमा गएको पहिरो र बाढीका कारण कर्णाली राजमार्गको यात्रा कष्टपूर्ण मात्रै छैन, जोखिमयुक्त पनि छ। राजमार्गका विभिन्न खसेको पहिरोले घन्टौ जाममा बस्नुपर्ने, गाडी धकेल्नुपर्ने र अधिकांश ठाउँमा हिँड्नुपर्ने बाध्यता छ।
नाग्मदेखि गमगढीसम्मको सडक सञ्चालन भएको चार वर्ष भयो। सडकको स्तरोन्नति नहुँदा असारदेखि भदौसम्म तीन महिना ९४ किलोमिटर सडकमा यातायातका साधन चल्दैनन्। नाग्म–गमगढी खण्डको कोइरेली, बड्की, बिष्टवाडा, रोकायवाडा, गोठीज्यूलालगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध छ।
सुर्खेत–जुम्ला सडक सञ्चालन भएको एक दशक पुग्यो । ठाउँठाउँमा सडक भत्केका छन्। पहिरोको समस्या उस्तै छ। सामान्यतया जुम्ला–सुर्खेतको दुरी आठदेखि १२ घन्टासम्मको हो। अचेल यही सडकमा यात्रा गर्न तीनदेखि चार दिन लाग्छ।
‘साँघुरा सडक, ठाउँठाउँमा झरेको पहिरोले गर्दा जुम्लादेखि सुर्खेत पुग्न दुईतीन दिन लाग्छ,’ तातोपानी गाउँपालिका–६ धौलापानीका खड्क खड्काले भने, ‘पहिले हिँडेरै तीन दिन लाग्थ्यो, आजभोलि गाडीमा जाँदा पनि त्यति नै समय लाग्छ।’ सडकको स्तरोन्नति र सरकारी निकायले समयमै आएको पहिरो नपन्छाउँदा यात्रु सास्ती खेप्दै आएका छन्। -नागरिक दैनिकबाट ।
कर्णाली राजमार्ग