निर्मला बलात्कार प्रकरणः विष्टमाथि अनुसन्धानका लागि २ दिन म्याद थप
कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका-२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या आरोपमा केही समयअघि सार्वजनिक गरिएका आरोपी दिलीपसिंह विष्टमाथि अनुसन्धानका लागि आज २ दिन म्याद थप गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गत भदौ ४ गते भीमदत्त नगरपालिका-१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई बालिका निर्मलाको हत्या आरोपमा सार्वजनिक गरेको थियो ।
लगत्तै यहाँका स्थानीय बासिन्दाले मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई सार्वजनिक गरेर घटनाको यथार्थ लुकाउन प्रहरी लागेको भन्दै आन्दोलन सशक्त बनाएका थिए । आन्दोलनले उग्र्ररुप लिँदा भएको झडपमा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८ का भगतपुरका सनी खुनाले शहादत प्राप्त गरेका थिए ।
जिल्ला प्रहरीमा आएको नयाँ नेतृत्वले अभियुक्त विष्टको मानसिकलगायत शारीरिक अवस्था जाँचका लागि काठमाडौँ पठाएको थियो । शनिबार भीमदत्तनगर पुर्याइएका विष्टमाथि थप अनुसन्धानका लागि आइतबार जिल्ला अदालत कञ्चनपुरले दुई दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।
‘विष्टसँगै अस्पतालका सबै कागजात सिल गरेर यहाँ ल्याइएको छ’, उक्त काण्डको अनुसन्धान अधिकृतसमेत रहेका ओझाले भने,‘हामीले अनुसन्धान सकेपछि सबै कागजातसहित अदालतमा पेश गर्छौं ।’