मेलम्ची आयोजनाः ठेकेदार फर्केनन्, आयोजना झन् अन्योलमा
काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले ठेकेदारबारे स्पष्ट निर्णय नलिँदा मेलम्ची आयोजना अनिश्चित बन्दै गएको छ । एकतर्फी रूपमा ठेक्का रद्द गरेको इटालियन कम्पनी सीएमसीबाटै काम गराउने वा नयाँ ठेकेदार छनोट गर्ने भन्नेमा अन्योल छ ।
‘मन्त्रीज्यू र सचिवज्यू केही पनि भन्नुहुन्न, ठेकेदार कम्पनीका अधिकारीहरू नयाँ वर्ष मनाएर आउँछौं भनेको अहिलेसम्म आएका छैनन्, आयोजनाको काम कसरी अघि बढ्छ ? अन्योल छ,’ मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार सीएमसी कर्मचारीले जनवरी ७ मा आउने जानकारी दिएका थिए ।
सीएमसी केन्द्रीय कार्यालयले आफू आर्थिक रूपमा टाट पल्टेको घोषणा गरेको छ । त्यही कारण देखाएर सीएमसी अधिकारीहरूले मन्त्रालयलाई ठेक्का तोडेको पत्र बुझाएका थिए । मन्त्रालयले पत्र नबुझी सीएमसीलाई बाँकी काम गर्न आग्रह गरेको थियो ।
ठेकेदारसँग भएको छलफल मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरबाहेक कसैलाई थाहा नभएको ती अधिकारीले बताए । उनका अनुसार सीएमसी अब कानुनी रूपमा मेलम्चीको काम गर्न योग्य छैन । ‘कम्पनी आफैंले ६० दिनसम्म काम नगर्ने, लिक्विडेसनमा गइसकेको भन्दै विज्ञप्ति निकालेको छ,’ उनले भने, ‘फेब्रुअरी ७ मा ६० दिन पुग्छ, त्यसअघि सीएमसीले कसरी काम गर्छ ?’ ठेकेदार आउनेनआउनेबारे मन्त्रालयलाई कुनै जानकारी नभएको ती अधिकारीले बताए ।
मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले ठेकेदारले आउनेनआउनेबारे कुनै प्रतिक्रिया नदिएपछि अन्योल छाएको बताए । ‘आउन त पर्ने हो, अहिलेसम्म कुनै आधिकारिक जानकारी छैन,’ उनले भने । ९७ प्रतिशत काम सकिइसकेकाले मन्त्रालयले बाँकी काम पनि सकभर उसैबाट गराउन चाहेको उनको भनाइ छ ।
ठेक्का तोड्नेबित्तिकै सरकारले सीएमसीको धरौटीबापत स्टान्डर्ड चार्टर बैंक र इन्भेस्टमेन्टको बैंकमा रहेको करिब अढाई अर्ब रुपैयाँ रोक्का गरेको थियो । सरकारले इटाली फर्कन लागेका कम्पनीका म्यानेजरलगायत कर्मचारीलाई पनि रोकेको थियो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
मेलम्ची आयोजना