News

यो वर्ष एक सय झोलुङ्गे पुल निर्माण हुँदै

यो वर्ष एक सय झोलुङ्गे पुल निर्माण हुँदै

काठमाडौं ।  यो वर्ष एक सय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो । अहिले १४० पुल निर्माणाधीन अवस्थामा रहेको डिभिजनका इञ्जिनीयर हुमाकान्त मिश्रले बताए ।

 

यो वर्ष निर्माण गरिने पुलमध्ये झण्डै ९० पुल पहाडमा नै छन् भने बाँकी तराईमा छन् । तत्काल मोटरबाटो नपुग्ने स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेका छन् । उनले भने, “ झोलुङ्गे पुलका लागि अहिले मोटरबाटो नभएको र अबका केही वर्षसम्म पनि मोटरबाटो नपुग्ने ठाउँलाई छनोट गरिएको छ ।”

 

सडक, पुललगायतका विकास निर्माणका काममा ठेकेदारका कारणले पनि ढिलाइ हुने गरेको छ । ठेक्का सम्झौता अवधि सकिँदासमेत निर्माण सम्पन्न नगर्ने कम्पनीलाई जरिवानाको प्रक्रियासमेत थालिएको छ । अहिले निर्माणाधीन कतिपय पुलले पहिलेका तुइन विस्थापित गर्ने छन् । 

 

झोलुङ्गे पुल निर्माण गर्ने स्थानमा सार्वजनिक जग्गा हुँदा विवाद नभए पनि निजी जग्गा भएका ठाउँमा पुल निर्माणमा अवरोध आउने गर्छ । उनले भने, “जग्गा विवाद भएका ठाउँमा बाहेक अरु ठाउँमा सक्ने लक्ष्य छ ।” डिभिजनले १२० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्छ भने त्यो भन्दा कम लम्बाइको पुल स्थानीय तहले निर्माण गर्छ ।  

झोलुङ्गे पुल

विशेष